अष्ट्रेलियामा साना व्यवसायका मेरूदण्ड हुन् आप्रवासी, भिसा प्रक्रियामा अल्झिँदा दक्ष जनशक्ति अभावले पेल्ने डर


चैत २५, मेलबर्न, अष्ट्रेलिया । मारिया जिया अष्ट्र्रेलियाको ब्रिसबेनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई व्यवसायिक शिक्षाबारे तालिम दिन्छिन् । पहिले उनले तालिम दिने कक्षाहरूमा विद्यार्थीहरूको ठूलो चाप हुन्थ्यो । तर, कोरोना भाइरसको महामारीका कारण अन्तरराष्ट्रिय सिमामा लगाइएको प्रतिबन्धले विद्यार्थीहरूको संख्या ठूलो रूपमा घटेको छ ।

‘कोरोना महामारीका कारण मार्च २०२० देखि हामीले बाहिरका विद्यार्थी ल्याउन सकेनाैँ । हामीले केही कर्मचारीलाई समेत बिदा दिनुपर्यो ।’ उनले भनिन्, ‘ मेरो कक्षामा ६० जना विद्यार्थी हुन्थे, अहिले ६ जनामा घटेका छन् । अन्तरराष्ट्रिय विद्यार्थीहरू नभएका कारण धेरै उद्योगहरू पनि प्रभावित भएका छन् । विशेषगरी होटल र पर्यटन क्षेत्रको प्रभाव ठूलो छ ।’

अहिले सिमानाहरू पुन: खोलिएको छ। अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारहरूले अष्ट्रेलियामा भिसाका लागि आवेदन दिन सक्छन् । तर, पुराना आवेदनहरूको ठूलो चांगले भिसाको लागि भने लामो समय कुर्नुपर्ने भएको छ ।

‘अहिले नाका खोलेकाले सबै कुरा सहज देखिन्छ, तर त्यो वास्तविकता होइन ।’ जिया भन्छिन् ।

अष्ट्रेलियामा अहिले दक्ष अन्तरराष्ट्रिय कामदारहरूको आवश्यकता रहेको बताउँदै जिया भन्छिन्, ‘यो समस्या रातारात समाधान हुने होइन । बसाइँसराइलाई तीव्रता दिएन भने कामदार अभाव हटाउन दुई–तीन वर्ष लाग्न सक्छ ।’

भिसा अस्वीकार दरहरू धेरै उच्च रहेको बताउँदै सरकारले पनि त्यसको मूल्याङ्कन गर्नुपर्ने जियाको भनाइ छ ।

साना व्यवसाय अर्थतन्त्रको ‘मेरुदण्ड’ हुन् आप्रवासीहरू

हाल साना व्यवसायहरूले सामना गर्ने सबैभन्दा ठूलो समस्या भनेको कामदार अभाव रहेको काउन्सिल अफ स्मल विजनेश अर्गनाइेसन अष्ट्रेलिया (सिओएसबिओए)की सिइओ एलेक्सी बोइडको भनाइ छ । उनले अष्ट्रेलियाका साना विजनेसहरूको अवस्था अन्तरराष्ट्रिय कामदारहरूको अभाव भएका कारण नाजुक रहेको बताएकी छिन् ।

सिओएसबिओएले गत हप्ताको संघीय बजेटमा घोषणा गरिएका धेरै संरचनात्मक सुधारहरूको प्रशंसा गरेको छ । तर, बोइडले श्रम अभावलाई सम्बोधन गर्न तत्काल उपायहरूको अभाव भएको बताइन् ।

‘आप्रवासीहरू साना व्यवसायको अर्थतन्त्रको मेरुदण्ड हुन् । यहाँ धेरै उद्योगहरू र हाम्रा धेरै सदस्यहरू छन् जसले आफ्नो विशेष उद्योगको लागि दक्ष बसाइ सर्ने सूची बढाउन वर्षौंदेखि कल गर्दै आएका छन् ।’ उनले भनिन् ।

सरकारले सन् २०२२-२३ का लागि १ लाख ६० हजार स्थायी आप्रवासन सीमा कायम गर्ने निर्णय गरे पनि दक्ष आप्रवासीलाई समर्पित भिसाको अनुपात करिब ७० प्रतिशतमा पुर्‍याउने निर्णय गरेको छ ।

त्यसैगरी, अाप्रवासनमन्त्री एलेक्स हकले वर्तमान प्रधानमन्त्री मोरिसनको सरकारले दक्ष कामदारहरूलार्इ भित्र्याउने कार्यलार्इ केन्द्रमा राख्ने बताएका छन् ।

सिइओ बोइडले दक्ष कामदार भित्र्याउनका लागि लगानी बढाउँदै भिसा प्रक्रिया सरल बनाउँदै लैजानुपर्ने बताएकी छन् ।

बोइड भन्छिन्, ‘हामीले भिसाहरू मिलाउने प्रक्रियामा रहेका मानिसहरू पाएका छौं । हामी त्यो छिटो भएको हेर्न चाहन्छौं। सबै उद्योगहरूले यही माग गरिरहेका छन् ।’

सन् २०१८-१९ मा भएको आप्रवासी प्रवेशको सीमा १ लाख ९० हजारमा पुर्‍याउन उद्योग समूहहरूबाट माग आएको थियो।

अष्ट्रेलियन इन्डस्ट्री ग्रुपका सिइओ इनेस विलक्सले दक्ष कामदारलाई केन्द्रित गरेर आप्रवासी ल्याउने कार्य स्वागतयोग्य भएता पनि अभाव पूर्तिका लागि पर्याप्त नभएको बताएका छन् । उनी भन्छन्, ‘साना व्यवसायीहरू दक्ष कामदार ल्याउने संख्या चाँडो भन्दा चाँडो बढ्छ भन्ने विश्वास छ ।’

सरकारले श्रमशक्तिको अभावलाई सम्बोधन गर्न र महामारीको सीमा बन्द भएपछि अर्थतन्त्रलाई जम्प-स्टार्ट गर्न बसाइसराइको महत्त्वलाई स्वीकार गरेको छ ।

तथापी, धेरै भिसाको कामहरू बाँकी रहेको भन्दै दक्ष आप्रवासी ल्याउने कार्य द्रूत गतिमा भने हुन सकिरहेको छैन ।

सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी र ब्याकप्याकरहरूलाई खाली ठाउँहरू भर्न मद्दत गरेको छ।

सरकारले यस वर्ष जनवरी १९ देखि मार्च १९ सम्म आइपुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र अप्रिल १९ सम्म आइपुग्ने कामदारहरूको भिसा आवेदन शुल्क फिर्ता गर्ने प्रस्ताव समेत गरेको छ ।

त्यसैगरी, जनशक्तिको अभाव कम गर्नका लागि विद्यार्थीले १५ दिनमा ४० घण्टा मात्रै काम गर्न पाउने सीमा निर्धारण पनि तत्कालका लागि खारेज गरिएको छ ।

एबिसी न्युजबाट साभार ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?