पाँच दिनदेखि बेपत्ता बालकको शव छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो


चैत २४, सर्लाही । सर्लाहीमा पाँच दिनदेखि बेपत्ता भएका बालकको शव छिमेकीको सेप्टि ट्यांकीमा भेटिएको छ । मलंगवा नगरपालिका–१२, गम्हरियाका जितेन्द्र ठाकुरका छोरा १० वर्षीय मिठु भन्ने आकाश ठाकुरको शव बिहीबार भेटिएको जिल्ला प्रहरी कार्यालयका सर्लाहीले जनाएको छ ।

उनका छिमेकी जगदिश ठाकुरको शौचालयको सेप्टिक ट्यांकीमा बोराभित्र हालिएको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार आकाश यही चैत २० गते राति गाउँमै न्वारानको भोज खान जाँदा हराएका थिए । बालक हराएपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो ।

लगत्तै खोजीमा जुटेको प्रहरी टोलीले शंका लागेर छिमेकी जगदिश ठाकुरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। उनैको बयानका आधारमा बालकको शव सेप्टिक ट्यांकीभित्र फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?