सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु


चैत २४, काठमाडौँ । देशका विभिन्न ठाउँमा भएका दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन् । 

पैदल हिडीरहेका बालकलाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ईमाडोल स्थित किष्ट मेडिकल कलेजमा शनिबार साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । कार सहित चालक महानगरिय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ । 

यस्तै चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार रहेको बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

झापाको दमक नगरपालिका–१० जहदामा बुधबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अंदाजी २३ वर्षीय विकास ताजपुरिया रहेका छन् । 

घाइते उनको उपचारको क्रममा दमक स्थित एडभान्स अस्पतालमा हिजो साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ साढे ५ बजे मे १ त ३७४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको थियो । ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?