कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु


चैत २३, काठमाडौँ । कंगोमा निधन भएका नेपाली शान्ति सैनिक सुर्खेतका अनिल गुरुङ रहेको नेपाली सेनाले जनाएको छ । अपरेशन ‘बाली’ मा रहेको नेपाली शान्ति सैनिकमाथि कंगोका विद्रोहीले आक्रमण गरेका थिए । आक्रमणमा घाइते सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ का गुरुङको हिजो निधन भएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ । राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् ।

महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् । शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।

शान्ति स्थापनामा संलग्न नेपाली शान्ति सैनिक आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएकोमा उनी र उनको परिवारप्रति प्रधानसेनापति प्रभुराम शर्माले दुःख व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?