अष्ट्रेलियामा दशैँ : यस्तो छ पायल शाक्यको अनुभव र योजना


काठमाडाैँ । आज नेपालीहरूको महान चाड दशैँको आठौँ दिन महाअष्टमी हो । दशैँको बिदा सुरू भएसँगै सबैजना आफ्ना प्रियजन तथा आफन्तसँग बसेर रमाइलो गर्न थालिसकेका छन् । केही वर्षअघि नेपालमा मात्रै बनाइने दशैँ अब भने विश्वका अधिकांश मुलुकमा मनाइन्छ । नेपालीहरू पुगेका हरेका देशमा यो समयमा दशैँको माहोल सुरू हुन्छ ।

त्यस्तै, धेरै नेपालीहरू भएको मुलुकमध्येको अष्ट्रेलियामा पनि दशैँको माहोल सुरू भएको छ । कोरोना महामारीका कारण न्यु साउथ वेल्समा जारी गरिएका प्रतिबन्धहरू लागु नै छन् । तर, अधिकांशले भ्याक्सिन लगाएका कारण धेरै खुकुलो भइसकेको छ ।

यस वर्षको दशैँ पूर्व मिस नेपाल पायल शाक्यले पनि अष्ट्रेलियामा नै मनाउँदैछिन् । उनी अष्ट्रेलिया र नेपालमै जनचेतना फैलाउने काममा सक्रिय छन् । यस वर्षको दशैँ उनले अष्ट्रेलियामा कसरी मनाउँदैछिन् त ? यसै विषयमा उनीसँग हाम्रो टोलीले संवाद गरेको थियो । यस्तो छ उनको योजना  :–

दशैँमा तपाईको घर वा नेपालबारे सबैभन्दा धेरै के सम्झिरहनु भएको छ ?

मैले पूर्ण रूपमा दशैँ नै सम्झिरहेकी छु । दशैँ आउनले दिनको पर्खाइमा बसेको र बाबाममीले नयाँ कपडाहरू किनेको क्षण याद आउँछ ।  भाइबहिनीसँग दशैँमा चङ्गा उडाइन्थ्यो । दशैँले सिर्जना गर्ने माहोल नै अहिले याद गरिरहेको छु । आफन्तहरूसँग बसेर तास खेलेको र घुम्न गएको, स्वादिष्ट खानेकुराहरू खाएको र टिका लगाएर दक्षिणा संकलन गरेको पनि सम्झना आउँछ  । बालापनमा नेपालमा दशैँ मनाएको सम्झनाले छुट्टै भावना र अनुभवहरू ताजा बनाउँछ ।

अष्ट्रेलियामा मनाएको पहिलो दशैँबारे केही बताइदिनु हुन्छ कि ? कस्तो थियो ? त्यसपछि दशैँ मनाउने तरिकामा केके परिवर्तनहरू देखिएका छन् ?

म २००६ मा अष्ट्रेलिया आए । मेरो बुबाममी, साथीभाइ र परिवारभन्दा टाढाको पहिलो दशैँको मलाई अझै सम्झना छ । त्यसबेलाको दशैँ परिवारभन्दा टाढा भएका कारण हर्षोल्लासभन्दा पनि केही असहज थियो । परिवारको रूपमा  सरून मात्रै यहाँ हुनुहुन्थ्यो । उहाँ दाइ र भाउजुसँग यहाँ बसिरहनु भएको थियो । उहाँहरूले मलाई टाढा भएको महसुस गर्न नदिन दशैँको माहोल नै सिर्जना गर्नु भएको थियो ।

त्यतिबेला अष्ट्रेलियामा धेरै नेपाली पसल तथा स्टोरहरू थिएनन् । त्यही भएर हामीलाई दशैँको सामानहरू किन्न छुट्टाछुट्टै ठाउँमा भौतारिनु पर्थ्यो । अहिले अष्ट्रेलियामा प्रसस्त नेपाली पसलहरू खुलेका छन् । सिड्नी लगायत अरू ठाउँमा पनि अहिले दशैँका सामग्रीहरू पाउन कुनै समस्या छैन ।

करीब २००६ देखि २००८ को बीचमा नेपालबाट धेरै विद्यार्थीहरू अध्ययन र करियरको शिलशिलामा अष्ट्रेलिया आए । त्यसैको परिणाम स्वरूप अहिले धेरै ठाउँमा दशैँ विशेष कार्यक्रमहरू आयोजना हुने गरेका छन्, जहाँ नेपाली–नेपालीहरू मिलेर रमाइलो गर्ने माहोल सिर्जना भएको छ । भर्खरै विदेश आएकाहरूलाई उनीहरूको घरपरिवार र प्रियजनको यादबाट छुटकारा दिलाउन यी कार्यक्रमहरू महत्वपूर्ण देखिएका छन् । दशैँले समुदायका मानिसहरूलाई एक गराउनुका साथै खुसी, मनोरञ्जन दिलाउनुका साथै व्यस्त दिनचर्याबाट छुटकारा दिलाउँछ ।

तपाई अष्ट्रेलियामा कसरी दशैँ मनाउनु हुन्छ ? के साहस हरेक वर्ष दशैँ मनाउन उत्साहित हुन्छन् त  ?

हामी सरूनको अभिभावकसँग भेटघाट गर्छाैँ । उहाँका २ जना दाइ र परिवारहरू, मेरा भाइ तथा परिवार टिकाको दिन भेट्छौँ । सोही दिन विषेश पार्टीको पनि आयोजना गरिएको छ । खेल तथा संगीतको मज्जा लिँदै हामी उत्कृष्ट समय सँगै बिताउँछौँ ।

हाम्रा छोरो साहस दशैँ, तिहार लगायत अन्य चाडपर्वको बारेमा सँधै उत्सुक हुन्छ  । हामी उसलाई हामीले मनाउने हरेका चाडपर्वको महत्व बुझाउन कोसिस गरिरहेका हुन्छौँ । हामीले मनाउने दशैँ भनेको दानवमाथि देवता हात पारेको जितको खुसियाली हो भनेर हामी बुझाउन प्रयत्नरत छौँ । साहसले पनि दशैँको बारेमा हाम्रो जस्तै अनुभव बटुलोस् भन्ने हामी चाहन्छौँ । परदेशमा हामीले बच्चा बेलामा पाएको जस्तो अनुभव त हुँदैन नै, तर पनि हामीले सक्दो प्रयास गरिरहेका छौँ । उसले जीवनभर दशैँको खुसियाली मनाओस् भन्ने हाम्रो चाहना हो ।

न्यु साउथ वेल्समा कोरोना विरूद्धको भ्याक्सिनको लक्ष्य पुरा भएसँगै प्रतिबन्धहरू खुकुलो हुने भएका छन् । यस वर्षको दशैँमा तपाईले विशेष केही योजना बनाउनु भएको छ की ?

पक्कै छ । हामी दशैँमा अग्रजहरूबाट टिका र जमराको साथै आशिर्वाद लिन पर्खिरहेका छौँ । बितेका वर्षमा झै यसपालि पनि हामी टिकाको दिन पारिवारिक जमघट गरेर दशैँ मनाउने योजनामा छौँ । लकडाउनका कारण हामीले करीब ३ महिनापछि परिवारसँग भेटघाट गर्दै छौँ । सोही कारणले पनि यस वर्षको दशैँ अझै विशेष हुनेछ ।

साहस पनि उनका भाइबहिनी र हजुरबा हजुरआमाहरूसँग भेट्नका लागि उत्साहित छ । अहिले उ दिन गनेर बसिरहेको छ । हामी हरेक वर्ष सरूनको घर जान्छौँ । उहाँहरूले स्वादिष्ट नेवारी खानेकुराहरू तयार पार्नुहुन्छ । दिनदेखि सुरू भएको उल्लास रातीसम्म जारी रहन्छ ।

नेपालीहरूको लागि दशैँ चाड मात्रै हैन । यस दिन एक आपसमा माया र सद्भाव पनि साटिने भएका कारण यसको ठूलो भावनात्मक महत्व पनि छ ।

कोरोना महामारीको २ वर्ष तपाईको परिवारमा कस्तो रह्यो ? यस समयमा तपाईले के सकारात्मक अनुभव लिनुभयो त ?

कोरोना महामारीका कारण पछिल्लो २ वर्ष हाम्रा लागि सिक्ने अवसरको रूपमा रह्यो । यो समयमा मैले आफ्ना प्रीय मान्छेसँग बिताउने समय महत्वपूर्ण छ भनेर सिक्ने अवसर पाए । हामी विभिन्न कारणले यताउता दौडिरहेका हुन्छौँ । सोही कारण हाम्रा लागि सबैभन्दा ठूलो सरोकार राख्ने पक्षबाट हामी टाढा भइरहेका हुने रहेछौँ ।

बितेका पछिल्ला २ वर्षमा हाम्रो व्यवहार र क्रियाकलापमा मात्रै नभइ सोच्ने पक्षमा पनि पक्कै परिवर्तन भएको छ । संसारका हरेक ठाउँ र मानिहरूमा कोरोना महामारीले असर पारेको छ ।

कोरोना महामारीमा मैले सिकेको सबैभन्दा ठूलो पाठ भनेको ’जीवन अमूल्य छ’ भन्ने हो । हामीसँग जे छ त्यसमै सन्तुष्ट हुनुपर्छ भन्ने कुरा यो समयमा सिक्न पाइयो ।

कोरोना महामारीका कारण लागु गरिएका प्रतिबन्धहरूका कारण धेरै मानिसहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको छ ? उनीहरूका लागि केही सन्देश दिन चाहनु हुन्छ ?

कोरोना भाइरसले हामीलाई भौतिक रूपमा मात्रै नभइ मानसिक रूपमा पनि क्षति पुर्याएको छ । व्यक्तिगत र समूहगत रूपमा नै हामी प्रभावित भएका छौँ । हामी सँधै आफ्नो र आफ्नो परिवारको बारेमा चिन्तित छौँ । कहिलेकाँही हामीले आफुलाई प्रियजनबाट टाढा राख्नुपर्ने पनि हुन्छ । यसले मानसिक डर निम्त्याउँछ । त्यस्तै, लकडाउनले पनि मानसिक स्वास्थ्यमा असर गर्ने बताइएको छ ।

यस्तो समयमा त्रास र डर हुनु स्वभाविक हो । अहिलेको अवस्थामा आफ्ना नजिकका मान्छेहरूसँग गफ गरौँ । नकारात्मकताबाट टाढा रहने प्रयास गरौँ । यसका लागि धेरै समाचार पढ्ने बानी पनि हटाउन सकिन्छ । पर्याप्त मात्रामा व्यायाम गरौँ । आफुलाई सबैभन्दा मन पर्ने कुरा गरौँ ।

यो चुनौतिपूर्ण समय हो । साथसाथै आफुलाई र आफ्नो सवल पक्षलाई चिन्ने समय पनि यही  हो । यो समय पक्कै हट्नेछ । यस समयमा केहि सिर्जनात्मक काम गरौँ ।

दशैँमा आफ्ना आफन्त, परिवार तथा घरमा  दक्षिणा पठाउन कुन माध्यम प्रयोग गर्नुहुन्छ ? र किन ?

विशेष गरेर दशैँको समयमा घरमा पैसा पठाउँदा हामी अझै पनि हाम्रा प्रिय मानिसहरूसँग नजिक भएर नै दशैँ मनाइरहेका छौँ जस्तो लाग्छ । पछिल्ला समयमा म बुबाआमा तथा आफन्तहरूलाई उपहार पठाएर सर्प्राइज दिने गरेको थिएँ । तर, अहिले पैसा नै पठाउँन थालेको छु । पैसा पठायो भने उहाँहरूले मन लागेको सामग्री किन्न सक्नुहुन्छ जस्तो लाग्छ ।

घरमा पैसा पठाउनका लागि वर्ल्ड रेमिटको सेवा प्रयोग गरिरहेकी छु । यसको सेवाप्रति म पूर्ण सन्तुष्ट पनि छु । पैसा पठाउनका लागि यो नै सुरक्षति र विश्वसनीय माध्यम लाग्छ । मैले वर्ल्ड रेमिटको एप्लिकेशन पनि डाउनलोड गरेकी छु । मैलै यहाँबाट पैसा पठाउने बित्तिकै घरमा बुबाआमाले पैसा पाइहाल्नु हुन्छ । यस वर्ष पनि मैले वर्ल्डरेमिटमार्फत नै घरमा पैसा पठाएकी छु ।

अष्ट्रेलियामा रहेका र दशैँमा घर फर्किएका नेपालीहरूका लागि के सन्देश दिन चाहनु हुन्छ ?

अहिले अष्ट्रेलियामा हामी महामारीको अवस्थामा जुधिरहेका छौँ ।  यो अवस्थमा आफ्नो र आफ्नो परिवारको ख्याल गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । सानो र सामान्य वा ठूलो उल्लास भएता पनि माया र सद्भाव पूर्ण रूपमा साटौँ अनि सुरक्षित होऔँ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?