सच्चा श्रद्धाञ्जली ?


कोभिड १९ कोरोना भाईरसका कारण धेरैको ज्यान गइरहेको छ । पछिल्लो समय नेपालमा यसले घातक रुप देखाएको छ र दैनिक सयभन्दा बढीको हाराहारीमा ज्यान गइरहेका छन् । यी सबै ज्यान अमूल्य छन् । परिवार र नजिकका आफन्तजनका लागि यो बज्रपात नै हो । यो शोकको घडीमा सहानुभूतिका शब्दहरु व्यक्त हुनु उनीहरुको लागि ऊर्जा बन्दछ । यी श्रद्धाञ्जलीका भावहरुले ति परिवारलाई सान्त्वना दिन्छ ।

आज हामीले यहाँ उठान गर्न खोजेको विषय एउटा त्यस्तो मरणको हो जसले यतिबेला पूरै सामाजिक सञ्जाल रंगीएको छ । श्रद्धाञ्जलीका शब्दहरु देश विदेशबाट पोखिएका छन् । सही सोच्नुभयो तपाईंले । हामीले चर्चा गर्न खोजेको विवेकशील स्व. उज्वल थापाकै हो ।
उज्वल थापा नेपाली राजनीतिमा एउटा सम्भावना बनेर पदार्पण भए । एउटा सामान्य नागरिकले कसरी सोच्छ यो सोचलाई परिवर्तन गर्नुपर्छ । आफ्नो अधिकारको बारेमा हेक्का राख्नुपर्छ र यो अधिकार स्थापित गर्न खबरदारी गर्नुपर्छ । तर, खबरदारी रचनात्मक हुनुपर्छ, शान्तिपूर्ण बन्नुपर्छ अनि परिवर्तनलाई सम्भव तुल्याउन उदाहरणीय जीवनशैली अंगाल्नुपर्छ भन्ने उद्देश्य राखेर उनले सुरु गरेको अभियान यतिबेला वैकल्पिक राजनीतिको नामले नेपलामा चर्चित छ ।

हामीले देख्यौं देशका राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका प्रमुख नेताहरु, युवा नेताहरु सबै सबैले उनलाई नयाँ विचारको प्रणेता, राजनीति सुधारक यावत यावत उपमाहरु दिए । उनको वैकुण्ठ बासको कामना पनि गरे । देशले अपूरणीय क्षति बेहोरेको व्यहोरा पनि हामीसामू राखे । तर, यहाँ विचारणीय कुरा के छ भने के तिनीहरुले उज्वल स्वस्थ रहेको बेला । यिनीहरुकै विकृतिको भण्डाफोर गरिरहेको बेला । उज्वलले निर्वाचनमा आफ्नो उपस्थिति देखाइरहेको बेला कुनै सहानुभूति, उत्साह या सहयोगको हात फैलाए त ? पक्कै पनि त्यस्तो भएन । सकेसम्म यिनीहरुलाई डलरे, आलाकाँचा लगायतका उपमा दिएर निरुत्साहीत बनाउने काम यही राजनीतिक बृत्तले गरेको हो । तथापि, उज्वलले उठाएका एजेन्डाहरुलाई आफ्नो पनि घोषणापत्रमा घुसाउने काम भने उनीहरुले सुटुक्क गरेकै थिए । हुनतः सार्वजनिक भइसकेपछि यदि त्यो सही छ भने त्यस्तो एजेन्डा सबैले समातुन् त्यही नै त सफलता हो । तर, भोट तान्नका लागि मात्र, मानिसलाई दिग्भ्रमित बनाउनका लागि मात्र कसैका एजेन्डालाई आफ्नो पनि हो भन्दै त्यसको दुहाई दिनु चाहीँ अत्यन्तै घृणित कार्य हो ।

प्रसंग फेरि पनि श्रद्धाञ्जलीकै । यतिबेला देशभित्र मात्र होइन विदेशबाट पनि ठूलो संख्यामा श्रद्धाञ्जलीका शब्दहरु सामाजिक सञ्जालमा पोखिएका छन् । अझ भन्ने हो भने श्रद्धाञ्जली नदिने र उनलाई वैकल्पिक विचारको प्रणेता भन्दै देश नै डुब्न लागेको जस्तो गरी, आफुले लामो समयदेखि ठूलै सहयोग र सहकार्य गरिरहेको झैं गरी अभिव्यक्तिहरु आएका छन् । हो, विदेश देखेकाहरुले देशमा पनि यस्तो किन हुन सक्दैन भनेर चिन्तन गरेका छन् होला । तर, के उनीहरुले परम्परावादी पार्टीहरुको पिछलग्गु हुन छोडेका छन् त ? नेपालको पुराना ति राजनीतिक दलहरुको झण्डा समाउन छोडेका छन् त ? ति दलहरुमा परिवर्तनको कुनै अभियान चलाएका छन् त ? उज्वललाई बिदाई गर्दैगर्दा उनीहरुको अभिव्यक्ति हेर्दा लाग्छ पूरै देश विवेकशील बनिसकेको छ । पूरै प्रवास उनकै सहयोगको लागि, उनले नै देखाएको बाटोमा हिंडन लामबद्ध भइसकेको छ । तर, स्थिति यस्तो छ त ? हामी सबैलाई थाहा छ वास्तकविता ।

अब सच्चा श्रद्धाञ्जलीको कुरा गरौं,
उज्वल थापाले दह्रोगरी समाएको एउटा झण्डा हो, बन्द सदाका लागि बन्द । नेपालमा कुनै समय थिए बन्दको क्यालेन्डर बन्ने गर्दथ्यो । यो महिनामा यतिवटा बन्द । बन्दले देशको अर्थतन्त्र मात्र होइन सामाजिक संरचनामा समेत प्रहार गर्न थालेको अवस्था थियो त्यो । त्यतिबेला नेपाल खुल्ला छ भन्ने नारा बोकेर सडकमा हिंड्ने विवेकशीलको जमातले राजनीति गर्ने चाहनासम्म राखेको थिएन । हाम्रो अधिकार हो बन्द गर्ने कि खुल्ला गर्ने । भनेको यत्ति हो । तर, यो जनताको आवाज थियो, जनताको मनको आवाज । यसैले विस्तारै परिस्थिति यस्तो बन्दै गयो कि कतिपय राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा समेत अब हामी राजनीतिक आम हड्ताल बन्द गर्दैनौं विरोधको अरु नै शैली अपनाउँछौं भन्नेसम्म लेख्नुपर्ने अवस्था आयो । तर, बेला मौकामा, आफ्नो कुरा सुनाउन बन्द गर्ने चलन यद्यपि कायम नै छ । कम भएको छ यो अर्कै कुरा हो ।

पदमा टाँसिन पाएपछि कुर्सीबाट नै आर्यघाटतर्फ जाने चलन छ नेपालमा । चाहे त्यो सत्ताको होस या पार्टीको या कुनै सामान्य संघसंस्थाकै किन नहोस् स्वघोषित, सदा सर्वदा आफैंलाई केन्द्रमा राख्नु चलन नै बनिसकेको छ नेपालमा । तर, उज्वलले देखाएको बाटो आफुले नेतृत्व गर्ने र आफ्नै पहलमा नेतृत्वको विकास गरी हस्तान्तरण गर्ने हो । उनले आफ्नै जीवनकालमा त्यो काम गरेर देखाए ।

यस्तै उज्वलले उद्यमको माध्यमबाट आफ्नो दैनिक जीविका चलाउनुपर्दछ भन्ने बाटो पनि राजनीतिज्ञहरुलाई देखाएका छन् । उनले जनता सदैव चनाखो हुनुपर्छ । आफ्नो अधिकारका विषयमा जानकारी रहनुपर्छ र कुनैपनि अवस्थामा यी अधिकारमा हनन भएको कटौती गरेको सहन गर्नु हुँदैन भन्ने बाटो देखाए । जनता सचेत बनेका छन् । आफ्नो अधिकारबारे बोल्ने भएका छन् । तर, उज्वलले देखेजस्तो विवेकशील भने बनिसकेका छैनन् । यदि हुन्थे भने शायद आज धेरैभन्दा धेरै युवाहरु राजनीतिमा हुन्थे । तिनै हिजो परीक्षण गरिसकिएकाहरुले २० हजारभन्दा बढी मत अनि सबैले आज वाह वाह भनिरहेकाहरुले मात्र ६ हजार मत पक्कै ल्याउने थिएनन् ।

यसैले निष्कर्शत के भन्न सकिन्छ भने, यतिबेला स्व. उज्वल थापाप्रति ओइरिएको सद्भाव, श्रद्धाञ्जलीका शब्दहरु केवल खहरे भेल मात्रै हो । सामाजिक सञ्जालमा देखिएको एउटा उभार मात्रै हो । यो तथ्य हो । यो तथ्यलाई मिथ्या सावित गर्ने हिम्मत आम नेपाली जनताले । यो हिम्मत प्रवासी नेपालीहरुले देखाउन सक्ने हो भने मात्रै स्व थापाप्रति न्याय ठहरिनेछ । सच्चा श्रद्धाञ्जली मानिनेछ । अन्यथा जसरी सामाजिक सञ्जालको टाईमलाईनमा आजको कुरा भोलिको कुराले छोपिन्छ । त्यसैगरी हामी आजको यो अभिव्यक्ति, धारणा र विचारलाई विस्तारै दैनिक क्रियाकलापको नयाँ चरणहरुमा विर्सदै जान्छौं । उही चलिरहेको पुरातनवादी सोचबाट राजनीति गर्नेहरुलाई नै हामी चुनिरहन्छौं । नयाँ विचारको विउ रोप्नेहरुलाई यसैगरी जिउँदो हुँदासम्म वास्ता गर्दैनौं अनि मरेपछि श्रद्धाञ्जलीका शब्दहरु चढाइरहन्छौ । तपाईं विचार गर्नुस् सच्चा श्रद्धाञ्जली दिने कि भावशून्य शब्दका श्रद्धाञ्जली मात्रै ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?