सरकार र विद्रोहीको स्वागतयोग्य कदम !


नेपालमा पटक पटक विभिन्न कालखण्डमा विद्रोह हुँदै आएका छन् । यी विद्रोहहरुले कैयौं पटक सकारात्मक परिवर्तन पनि ल्यायो । २०६२/६३ को जनआन्दोलनले देशलाई गणतन्त्रमा परिणत मात्र गरेन । १० वर्षे सशस्त्र द्वन्द्वलाई पनि शान्तिपूर्ण अवतरण गर्ने सफलता पायो । यही जनयुद्धको एउटा पक्ष भने शान्तिपूर्ण यो रुपान्तरणलाई गलत भन्दै फेरि विद्रोहको बाटो समातेपछि नेपालको नियति नै अशान्ति, हिंसा र त्यसबाट सिर्जित अन्योलमै वितिरहने हो कि भन्ने धेरैलाई लागेको थियो । तर, वर्तमान सरकार गठनको केही समयमा नै मधेशमा विद्रोह गरिरहेको सीके राउतको समूहलाई शान्तिपूर्ण मूलधारमा ल्याउने सफलता पाएको सरकारले यतिबेला विप्लव नेतृत्वको विद्रोहलाई पनि वार्ताको माध्यमबाट शान्तिपूर्ण धारमा ल्याउने सफलता पाएको छ । भर्खरै दुई पक्षबीच भएको वार्ताबाट तीन बुँदे सहमति बनेको छ र यो सहमतिले देशलाई हिंसात्मक विद्रोहबाट होइन शान्तिपूर्ण राजनीतिक गतिविधिबाट प्रशिक्षित गर्दै २१ औं शताब्दीको विकासको युगमा प्रवेश गराउने आशा दिलाएको छ ।

दुई वर्षअघि विप्लव माओवादीलाई लगाइएको प्रतिबन्ध हट्ने भएको छ भने १ सय ४३ जना माओवादी नेता कार्यकर्ता रिहा गर्ने तयारी छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, सबै गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति गरेका छन् ।
देशलाई वैज्ञानिक समाजवादमा लैजाने मुख्य लक्ष्य लिएर अघि बढेको यो समूहले यसअघिको माओवादी जनयुद्धकै शैलीमा कारवाहीहरु गर्न थालेपछि सरकारले बाध्य भएर यसका गतिविधिहरुलाई अवैध घोषित गर्दै प्रतिबन्ध लगाएको थियो ।

अहिलेको यो सहमतिलाई दुबै पक्षले ईमान्दारीपूर्वक लागू गर्ने हो भने र जनताको मतबाट चुनिने अनि आफुले चाहेको राजनीतिक परिवर्तन त्यही मतका आधारमा गर्ने हो भने वर्तमान संविधानमा यसका यथेष्ठ प्रावधानहरु छन् । यी विषय नेकपा विप्लव समूहबाट हिजोको दिनमा पनि छुपेको थिएन । तर, ढिलै भएपनि सहमतिमा आउनु, शान्तिको प्रतिबद्धता व्यक्त गर्नु प्रशंसनीय नै छ । अहिलेको यो सम्झौतालाई रणनीतिक रुपमा उपयोग गर्ने र शक्ति सञ्चय गर्ने कडीका रुपमा हेरियो भने यो सबैका लागि दुर्भाग्यपूर्ण हुन्छ । यसतर्फ मुलुक नजाओस् भन्ने हामी कामना गरौं । साथै, सरकारको तर्फबाट व्यक्त प्रतिबद्धताहरु पनि अक्षरस पालना गर्दै अब फेरि हिंसात्मक विद्रोहमा जाने कुनै पनि कारणहरु बाँकी नराखियोस् यो आजको आवश्यकता हो । वार्ताको क्रममा हिजो सँगै युद्धमा रहेका दुई योद्धाहरु गृहमन्त्री रामबबहादुर थापा र विप्लव समूहका प्रकाण्डको छलफल विश्व मञ्चकै लागि रोचक विषय बनेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले हासिल गरेको यो सफलताले पक्कै पनि सबै नेपालीमा एउटा नयाँ खुशीको सञ्चार गराएको छ । आशाको नयाँ आभाष दिलाएको छ । नेपालको राजनीति यतिबेला तरल अवस्थामा छ । सरकार संकटमा छ । तर, यही बेला प्राप्त भएको यो महत्वपूर्ण सफलतालाई भने सबैले स्वागत गर्नैपर्दछ । यो सम्झौताको सफलतामा नेपालको सुनिश्चित सुदूर भविष्य लुकेको छ भन्दा अत्युक्ति हुने छैन । विकासको नयाँ चरणको लागि यो प्रस्थान विन्दु बन्न सकोस् हाम्रो पनि शुभेच्छा ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?