आन्दोलनको मौसम र कोरोनाप्रति लापर्वाही !


नेपालमा यतिबेला आन्दोलनको मौसम सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको किचलोले पार्टी विभाजनको स्थिति आएपछि भएको संसद विघटन र चुनाव घोषणापछि यतिबेला राजनीतिक सरगर्मी बढेको छ । योसँगै कोरोनाको महामारी पनि नियन्त्रणमा आउन नसकेको अवस्थामा ठूला ठूला सभा सम्मेलन, बैठकहरु आयोजना गर्ने क्रम बढेको छ । तर, यस्ता सभा सम्मेलनहरुमा सामाजिक दूरी, कोरोना रोथामका लागि अपनाइनुपर्ने उपायहरुमा खासै कसैले वास्ता गरेको पाइदैन । लामो लकडाउन अनि अर्थतन्त्रमा ठूलो क्षति गराएर प्राप्त भएको आंशिक सफलता पनि यी राजनीतिक खिचातानीका खेलहरुमा रुमल्लिने अवस्था आइपुगेको छ ।

देशमा आइपरेको यो महाविपत्तिको समयमा आम सर्वसाधारणको जीवनको रक्षा गर्ने प्रमुख दायित्व नेपाल सरकारको हो । तर, न त सरकार यसमा सम्वेदनशील छ न त अन्य राजनीतिक दलहरु नै । दैनिक कैयौं नेपालीको ज्यान गइरहेको अवस्थामा पनि यी सम्वेदनशील हुँदैनन् भने कसका लागि राजनीतिक गरिँदैछ ? जनताले प्रश्न गर्नुपर्ने बेला भएको छ । नेपालको संविधान २०७२ ले स्पष्ट मार्गनिर्देश गरेको छ । राजनीतिमा बहुमत सिद्ध गर्ने र आफ्ना कुरा मनाउने लोकतान्त्रिक पद्धति अवलम्बन गरेको देशमा यतिबेला संसद नै विघटन भएर मुद्दा अदालतमा पुगेको छ । अदालतले गर्ने निर्णयलाई दुबै पक्षले मान्छु भनिरहेको बेलामा फेरि यो शक्तिप्रदर्शन र जनप्रदर्शन के को लागि ? दबाबका लागि या महामारीलाई अझै फैलाउन मद्दत गर्नका लागि ? यो गम्भीर प्रश्न बनेको छ ।

सरकारले कोरोना महामारीकै बीचमा स्वास्थ्य मन्त्रीको फेरबदल गर्ने, कुनै पूर्वसतर्कताविना सरकारको विरोधको नाममा ठूला आमसभा आयोजना गर्ने । अनि, देशैभर ठूला प्रदर्शनहरु गर्ने क्रम बढ्दै जाँदा आम नागरिकले यस्ता कोरोनालाई फैलाउन सहायक सिद्ध हुने कार्यक्रममा सहभागी नहुने निर्णय गर्नु आजको आवश्यकता बनेको छ । तर, सर्वसाधारण पनि राजनीतिक ध्रुवीकरणको मारमा परेर आफ्नो ज्यानलाई जोखिममा पारिरहेका छन् । अमेरिकामा आम चुनाव भयो । त्यहाँ कोरोनाका कारण लाखौं मानिसको ज्यान गइरहँदा भएको चुनावले यसलाई बढाउन अझ बढी भूमिका निर्वाह गर्यो । अमेरिकामा कोरोनामा भइरहेको हेलचेक्राईको समाचार बनाउने नेपाली सञ्चार माध्यम यतिबेला स्वयं आफ्नै कर्मचारीको ज्यान जोखिममा पारेर नेपालका यी आमसभा र सम्मेलनहरुमा तछाड मछाड गरेर पुगिरहेका छन् । अब सोच्ने कसले ?

एकातिर लोकतान्त्रिक शक्तिहरुको खिचातानी छ भने अर्कोतिर पूर्वराजा समर्थकहरुको पनि आफ्नै आन्दोलन छ । लाग्दछ महामारीबाट लाखौंको ज्यान लिनका लागि सबै पक्ष उद्यत छन् । होइन भने सामाजिक सञ्जालको युगमा आफ्ना कुरा भन्नका लागि भेला भइरहनैपर्ने, नाराबाजी गर्नैपर्ने, मानिसहरुको ज्यान जोखिममा पार्नैपर्ने किन ?

यो विषम परिस्थितिमा तत्कालै सबै राजनीतिक दलहरुले नेपालमा कोरोनाको महामारीलाई मध्यनजर गर्दै कम्तिमा ठूला सभा सम्मेलन नगर्ने, गर्न नै परेपनि डिजिटल माध्यमबाट गर्ने र भौतिक रुपमा एकै ठाउँमा भेला हुन परेको अवस्थामा पनि मास्क अनिवार्य गर्ने, भौतिक दूरी कायम गर्ने, स्यानिटाईज गर्ने कार्यलाई व्यवस्थित बनाउने हो भने यसले कोरोना नियन्त्रणमा पक्कै पनि थोरै भएपनि योगदान गर्नेछ । यसतर्फ हामी सबै सचेत बन्ने हो कि ?

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?