बिदाको यो सिजनमा फेरि अकालमा कसैको ज्यान नजाओस् !


घटना, दुर्घटना भइरहन्छन् ।

तर, दुर्घटनालाई हामी रोक्न सक्छौं ।

पूरै रोक्न नसकेपनि कम पक्कै पनि गर्न सक्छौं ।


यतिबेला अष्ट्रेलियामा बिदाको मौसम सुरु भइसकेको छ । क्रिसमस र नयाँ वर्षको पूर्वसन्ध्यामा छौं हामी । विगतमा हामीले बिदाको समयमा सडक दुर्घटना अनि पानीमा डुबेर हुने दुर्घटनामा धेरै समूदायका युवाहरुलाई गुमाइसकेका छौं । महामारीको कारण बढेको तनाव, आर्थिक संकट अनि पढाई र परिवारसँग टाढा हुनुको पीडा यिनै कारणहरु बन्दछन् मदिरा सेवन गर्ने बहाना । अनि, नशाको सुरमा जब ज्यानै जानेसम्मका दुर्घटनाहरु हुन्छन् अनि हामी भन्छौं, यस्तो नहोस्, फेरि यस्तो नहोस् । तर, ढिला भइसकेको हुन्छ ।’

क्रिसमसका कर्पोरेट पार्टीहरु समुद्री किनारामा, रिसोर्टहरुमा, तालहरुमा र नदीका किनाराहरुमा हुने क्रम छ यतिबेला । यसैगरी क्रिसमसको बिदा सुरु भएपछि साथीभाई भेट्न, आफन्तसँग समय बिताउन अनि विभन्न शहर घुमी मनोरञ्जन लिन यात्रा गर्ने क्रम सुरु हुन्छ । कोभिड १९ का कारण घरभित्रै बस्न बाध्य बनेका हामी यो घुम्न पाउने अवसरलाई पक्कै पनि सदुपयोग गर्न चाहन्छौं । तर, यसमा विशेष सतर्कता आवश्यक छ । सडकमा यात्रा गर्दा सदैव ट्राफिक नियमको पालना गर्ने, मदिरा सेवन गरेर गाडी नहाँक्ने, लामो समयसम्म एकैजनाले गाडी नकुदाउने, बेला बेलामा आराम गर्ने र सकेसम्म रातको समयमा गाडी नचलाउने । यदि कुरा मात्रै पनि हामीले याद गर्न सक्यौं भने पक्कै पनि जोखिमलाई आधा घटाउन सकिन्छ ।

यस्तै नेपालीहरु भूपरिवेष्ठित देशबाट आएका हुन् । अष्ट्रेलिया समुद्रले घेरिएर बसेको छ । बिदाको समयमा किनारामा रमाउने यहाँको चलन छ । अनि हामी नेपालकै खोला नदीनाला जस्तो सोचेर यहाँ हेलिन्छौं र आफ्नो ज्यानलाई जोखिममा पार्छौं । सडक र पानीमा हुने दुर्घटनाले धेरै आमा बुबाको काख खाली भएको छ । यसैले सोचौं, पानीमा जानुअघि सुरक्षाका पर्याप्त उपाय अपनाएर मात्र जाउँ अन्यथा धेरै ढिला भएपछि पछुताउन तपाईं त रहनुहुन्न तर तपाईंका आफन्तजन, प्रियजन जिन्दगीभरी पीडामा रहन बाध्य हुनुहुनेछ ।

यो बिदाको समयमा सकेसम्म पानीमा नजाऔं । जानै परेपनि पर्याप्त सावधानी अपनाएर मात्र जाउँ । लाईफगार्डहरु नभएको ठाउँमा पौडी नखेलौं । बाहिर धेरै थकिन भएर, मदिरा सेवन गरेर पानीमा पौडी खेल्न नजाऔं । सेल्फीको लोभमा खतरालाई नजरअन्दाज नगरौं । सबैभन्दा महत्वपूर्ण कुरा त पानीमा कुनै दुर्घटना भइहालेमा अनुभवी लाईफगार्डहरुलाई सम्पर्क गरौं आफैं उद्धार गर्न अघि सर्दा झन् दोहोरो दुर्घटना हुने खतरा बढ्दछ ।

तपाईंको जीवनको जत्ति मूल्य कुनैपनि क्षणहरुको छैन । यसैले अनावश्यक खतरा नमोलौं, यो बिदाको सिजनलाई दुर्घटना शून्य बनाउने प्रयासमा सबै एकजुट बनौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?