‘कन्फेसन’का नाममा मानमर्दन, अष्ट्रेलियामा नेपाली समाजले हेर्नुपर्ने अर्को पाटो !


Photo Courtesy : nepsyders.com

नेपाल ट्युब अष्ट्रेलियाले गरेको खोजीमा ‘कन्फेसन’का नाममा मनगढन्ते सूचनाहरु सम्प्रेषण गर्ने र समूदायका सदस्यहरुको मानमर्दन गर्ने गरेको पाइएको छ । कन्फेसन अफ नेप्लीज ईन अष्ट्रेलिया नाम दिएर सञ्चालन गरिएको फेसबुक पेजमा दैनिकजसो सैयौं पोष्ट हुने गर्दछन् । पेजले यसरी आउने स्वीकारोक्तिहरुलाई विना छानविन प्रकाशित गर्ने मात्र होइन आफैंले बनाएको मापदण्डलाई समेत मिचेको पाइएको छ । सामाजिक सञ्जालमा फेसबुक ग्रुप या पेज बनाएर सूचनाहरु सम्प्रेषण गर्दा त्यस पेजलाई फलो गर्ने या ग्रुपमा सदस्य रहेकाहरुलाई एकै पटक जानकारी पुग्ने भएकोले यो प्रभावकारी मानिन्छ । तर, यसको दुरुपयोग पनि बढदैछ । विभिन्न फेसबुक ग्रुप सञ्चालनका नाममा समेत विद्यार्थीहरुको व्यक्तिगत जानकारी संकलन गर्ने र व्यवसायिक संघसंस्थालाई उपलब्ध गराइने गरेका गुनासो पनि बारम्बार हामीसँग आएका छन् ।

हुन त पेजमा अष्ट्रेलियामा आएका मुख्यत नेपाली विद्यार्थीहरुले आफन्त, साथीभाई कोहीसँग पनि शेयर गर्न नसकेका कुराहरु लेख्ने गरेका छन् । यसले लेख्नेहरुको मानसिक तनावलाई केही कम त गर्ला तर समूदायका केही सदस्यहरुको भने मान मर्दन गर्ने गरेको छ । पछिल्लो समयमा भने यसमा मुख्यतः नेपाली समूदायका महिला सदस्यहरु, युवतीहरुलाई बढी आक्रमण गरेको देखिन्छ ।

परीक्षणका लागि मनगढन्ते कन्फेसन लेखेर पठाइएको थियो । जसमा नर्स श्रीमती भएका एक युवकले आफ्नो श्रीमती अन्यसँग लागेको गुनासो गरेका छन् । यसलाई एक शब्द पनि फेरिफाई नगरी जस्ताको तस्तै प्रकाशित गरिएको छ ।

नेपालट्युबको तर्फबाट पठाईएको काल्पनिक कन्फेसन
कन्फेसन अफ नेप्लीज ईन अष्ट्रेलियामा प्रकाशित सोही काल्पनिक कन्फेसन

नेप्साईडर्स डट कम नाम वेवसाईट नै सञ्चालन गरेर कन्फेसनमा पठाउँदा अपनाउनुपर्ने मापदण्ड दिइएको छ ।

मापदण्डमा कन्फेस गर्दा कसैबाट आफु पीडित बनेको छ भने पीडकको नाम लिन नपाइने भनिएको छ । आरोप लगाउनु र यो कानूनी रुपमा प्रमाणित हुनु फरक कुरा हुन् । यसैकारण कानूनी बाटोमा जान पनि सुझाइएको छ यो त ठीक छ । तर, यी नियमको पालना उसले आफैं भने गरेको छैन । यस्तै लापर्वाहीको शिकार एनआरएन क्वीन्सल्याण्डका अमृत खत्री बन्न पुगे । उनको नाम नै किटेर विद्यार्थीहरुलाई सहयोग नगरेको आरोप लगाइयो । जसका कारण उनी डिप्रेसनमा समेत गए ।

कन्फेसन प्रकाशित गर्नका लागि अनिवार्य रुपमा यो साईटको न्यूजलेटर सब्सक्राईब गर्नुपर्ने हुन्छ । अनि न्यूजलेटर सब्सक्राईब गर्नका लागि तपाईंले दिनुपर्ने हुन्छ आफ्नो ईमेल, तपाईंको लिंग, उमेर, ठेगाना । नेप्साईडर्सले भोलि कुनै कानूनी झमेला आएमा त्यसमा प्रयोग गर्नेगरी यो सूचना संकलन गरेको जनाए पनि त्यसको सुरक्षाका बारेमा भने यथेष्ठ प्रत्याभूत गरेको देखिदैन ।

अष्ट्रेलियाको भागदौड, परिवारबाट विछोडिनुपरेको तनाव अनि फरक परिवेशकाबीच अन्तर्राष्ट्रिय विद्यार्थीमाझ मानसिक समस्या बढ्दो छ । कन्फेसनका नाममा, आफ्नो समस्या, विचार अभिव्यक्त गर्दा राहत मिल्छ भन्ने ठम्याईमा अरु कसैलाई हानी गर्ने अनि उसको चाहीँ मानसिक तनाव बढाइदिने कार्य कुनैपनि हालतमा सैह्य हुन सक्दैन । गाउँघरमा हुने पँधेरे गफहरु डिजिटल माध्यममा प्रकाशित, प्रसारित गर्दा यसले भोलि दिने कानूनी झमेलाको बारेमा पनि सचेत बन्नैपर्छ । कसैले गलत गरेको छ भने तिनको उपचारका लागि कानूनी माध्यम अपाइनु पर्दछ । अझ अष्ट्रेलियामा जोखिममा रहेका व्यक्तिहरुको सहायताका लागि धेरै बाटोहरु छन् । कन्फेसनका नाममा समूदायकै प्रति हिलो छ्याप्ने, तनाव बढाउने र अर्काको समस्याबाट मनोरञ्जन लिने कार्य भने रोक्नै पर्दछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?