एज्ड केयरमा नाच्दा के भयो त ?


Source : 9 news video screenshot

अष्ट्रेलियाको भिक्टोरिया राज्य कोरोना संक्रमणका कारणले निकै प्रभावित बनेको छ । यसैकारण चौथो तहको लकडाउन यहाँ लगाइएको छ । राति ९ बजेदेखि त कफ्र्यू नै पनि लागू छ विहान ५ बजेसम्मका लागि । हामीले यहाँ चर्चा गर्न लागेको विषय यो कडा लकडाउनको होइन । तर, विषय कोरोना भाईरसकै संक्रमणसँग जोडिन्छ ।
नेपाली समूदायको ठूलो हिस्सा अष्ट्रेलियाको स्वास्थ्य सेवामा छन् ।

नेपालीको ईमान्दारिता, सेवाभाव अनि सरलताले नै उनीहरुलाई सार्वजनिक स्वास्थ्यका क्षेत्रमा अत्यधिक रुचाइएको हो भन्दा फरक पर्दैन । अझ एज्ड केयरहरुमा काम गर्ने नेपालीको संख्या ठूलो छ । यो माया, सद्भाव र सम्भान यसै प्राप्त भएको होइन । माथि नै हामीले उल्लेख गरिसक्यौं यसमा हाम्रो स्वभाव, संस्कार लगायत स्वतः प्रतिबिम्बित भएको छ ।

यतिबेला मेलबर्नको पूर्वी क्षेत्र नुनावाडिंगमा रहेको एक एज्ड केयरमा कोरोना लकडाउनको समयमा पनि नाचगान, खानापिनासहितको बर्थडे पार्टी आयोजना गरिएको विषय चर्चामा छ । नहोस् पनि किन ? एज्ड केयरहरुमा नै सबैभनदा बढी मृतयुदर देखिएको छ । आफ्ना बृद्धबृद्धा अभिभावकहरुलाई एज्डकेयरको सेवामा राख्ने अष्ट्रेलियनको ठूलो हिस्सा छ । यो एक प्रकारले संस्कार नै हो अष्ट्रेलियनहरुको । अनि, त्यहीँ यस किसिमको लापर्वाहीको प्रशंसा हुँदैनथ्यो त्यो स्वाभाविक छ ।

काम गर्दा र यो नाच्दाको अवस्थामा फरक छ । काम गर्दा पीपीई, मास्क, फेस शिल्ड अनिवार्य लगाइएकै हुन्छ । तर, यहाँ त्यस्तो थिएन । अनि, जुन कारणले यो नाचगाना चलेको थियो यसलाई हामीले सही ठहर गर्न नै सक्दैनौं ।

आलोचना गर्नेहरुले बलिउडको गीतमा नाचेको भनी हाम्रो छिमेकी देशको समूदायलाई मुछ्ने काम गरेका छन् । हामीलाई त चिनेनन्, अरुले गाली गाए भनेर यहाँ मख्ख पर्नुपर्ने कुनै कारण छैन । किनकि, अन्तर्यमा, यो क्षेत्रमा नजिक भएकाहरुमा स्पष्ट नै छ यो विषय, यसमा संलग्नहरु । हो, त्यहाँ नेपाली पनि थिए, दक्षिण एशियाली अन्य देशका नगारिक पनि थिए । तर, गाली भने भारतीयहरुले मात्र खाइरहेका छन् ।

अब प्रसंग जोडौं यो सही कि गलत ? एज्ड केयरका मेनेजरको भनाई सुन्ने हो भने उनी तर्क गर्छन् त्यहाँ बाहिरबाट कोही पनि आएको थिएन । यसैले सबै सुरक्षित नै थियो । तर, प्रिमियर ड्यानियल एन्ड्रयू प्रश्न गर्छन् के कामदारहरु बाहिरबाट आएका थिएनन् ?

समूदायमा कोरोना फैलिएको छ त्यहाँबाट सर्ने सम्भावना हुँदैन ? यहाँ प्रिमियरकै तर्कले काम गर्छ । हो, जतिबेला यहाँ बर्थडे पार्टी मनाइँदैथ्यो त्यतिबेला मेलबर्नको समूदायस्तरमा कोरोना फैलिएको थियो । नाच्दा सर्ने, काम गर्न जाँदा नसर्ने होइन, यसैकारण त कैयौं एज्ड केयरमा कोरोना फैलिएर धेरैको ज्यान पनि गयो । स्वयं नर्सहरु, एज्ड केयरका कर्मचारीहरु सेल्फ आइसोलेसनमा बारम्बार बस्नुमात्र परेन कोरोना पोजेटिभ आएर त्यसको उपचारका लागि लामो समयसम्म काममा समेत जान नसक्ने अवस्थामा पनि पुगे ।

काम गर्दा र यो नाच्दाको अवस्थामा फरक छ । काम गर्दा पीपीई, मास्क, फेस शिल्ड अनिवार्य लगाइएकै हुन्छ । तर, यहाँ त्यस्तो थिएन । अनि, जुन कारणले यो नाचगाना चलेको थियो यसलाई हामीले सही ठहर गर्न नै सक्दैनौं । किनकि, कैयौं चाडवाडहरु, कैयौं खेल प्रतियोगिताहरु, कैयौं विशेष कार्यक्रमहरु रोकिएका छन् । त्यसमा कुनै एकजना व्यक्तिको बर्थडेको पार्टी नै आयोजना गर्नु आवश्यक थिएन त्यो पनि यति धेरै जोखिमयुक्त मानिसहरु रहेको ठाउँमा ।

यसैले कुनैपनि हालतमा एज्ड केयरमा भएको यो पार्टीलाई जायज ठहराउन सकिँदैन ।
यसैले हामीले पुनः एक पटक जो जनस्वास्थ्यमा संलग्न छौं उनीहरुले जुनसुकै परिस्थितिमा पनि जोखिममा रहेको वर्गलाई असर पर्नेगरी आफ्ना गतिविधि गर्नु हुँदैन ।

तर्कका लागि तर्क गर्न सकिन्छ, उनीहरुको योगदानको हामीले उच्च सम्मान गर्नपर्छ । उनीहरुले ज्यान जोखिममा राखेर काम गरिरहेका छन् । हो, यसमा दुईमत छैन तर यसकै आधारमा जे गर्न पनि छुट छ भन्ने पनि त हुँदैन । यसैले नेपाली समूदायका सदस्यहरु जो स्वास्थ्य सेवामा खटिनुभएको छ सबैले एकपटक यो तथ्यलाई मनन गर्ने कि ?

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?