अष्ट्रेलियामा बढ्दो घरेलु हिंसाको घटना चिन्ताको विषय !


अष्ट्रेलियाको नेपाली समाजमा बढ्दो घरेलु हिंसाका घटना यतिबेला सबैका लागि चासो र चिन्ताको विषय बनेको छ । ।अष्ट्रेलियामा नेपालीहरुको आधिकारिक संख्या लाख नाघिसकेको छ । अधिकांश विद्यार्थीका रुपमा उच्च शिक्षाका लागि यहाँ आउने अनि शिक्षा र शिप हासिल गरिसकेपछि यही भूमिलाई आफ्नो बनाउनेको संख्या धेरै छ ।

अझ भनौं, २०/२५ वर्षको उमेरमा यता एक्लै वा जीवनसंगीका साथ आएर आफ्नो परिवार, समाज निर्माण गर्ने युवाहरु धेरै छन् अष्ट्रेलियामा । यसरी आफ्नो परिवार, समाजदेखि टाढा रहँदा उनीहरुले अपनाउनुपर्ने अनुशासन, संस्कारमा कमी रहन जाँदा पारिवारिक र मानसिक तनावका घटनाहरु बढ्दो क्रममा छन् ।

तनाव आफुले पाउने मात्र होइन अरुलाई दिने घटना पनि बढेको पाइएको छ । पछिल्लो समय डिभोर्सका घटना बढ्दै जानु, पारिवारिक हिंसाका घटनामा बढोत्तरी हुनु मात्र होइन आधुनिक समाजले अस्वीकार गर्ने महिलाविरुद्धका हिंसाका घटनाहरु पनि धमाधम सतहमा आउन थालेका छन् ।

घरभित्रको कुरा, जोईपोईका समस्या भनेर यिनलाई सहने, सहने अनि फेरि पनि सहने तर कसैलाई नभन्ने प्रवृत्तिबाट विस्तारै आफ्नो अधिकार, आफ्नो सुरक्षा र आफ्नो कर्तव्यबोधप्रति सचेत बनेका दृष्टान्तहरु पनि बाहिर आउन थालेका छन् ।

घरभित्रको कुरा, जोईपोईका समस्या भनेर यिनलाई सहने, सहने अनि फेरि पनि सहने तर कसैलाई नभन्ने प्रवृत्तिबाट विस्तारै आफ्नो अधिकार, आफ्नो सुरक्षा र आफ्नो कर्तव्यबोधप्रति सचेत बनेका दृष्टान्तहरु पनि बाहिर आउन थालेका छन् ।

अष्ट्रेलिया घरेलु पारिवारिक हिंसा र महिलाविरुद्धको हिंसा ठूलो अपराध मानिने देशहरुमध्ये पर्दछ । हुनतः नेपालमा पनि यस्ता घटना कानूनी रुपमा दण्डनीय अपराध हुन् । तर, कानूनको फितलो कार्यान्वयन र परम्पारा अनि पितृसत्तात्मक समाजका कारण अहिले पनि निरन्तर हिंसा जारी नै छ । तर, अष्ट्रेलियामा यस्तो हुन्न ।

घटना आफुहरुबीच नै रहँदासम्म केही नभएपनि जब यो कानूनको नजरमा, प्रहरीको सामू पुग्दछ यसले ल्याउने तरंग निकै ठूलो छ । कतिपय नेपाली युवा युवतिहरु यस्तै हिंसा गरेकै कारण देशनिकालामा समेत परेका छन् ।

परिवारभित्रको कुरामा पहिलो जिम्मेवारी र दायित्व परिवारकै सदस्यहरुको हुन्छ । यसैले तपाईंका आफ्ना सन्तानहरु अष्ट्रेलियामा छन् भने उनीहरु के गरिरहेका छन् रु कसरी बसिरहेका छन् । एकअर्कासँगको सम्बन्ध कस्तो छ यो तपाईंको चासोको विषय हुन आवश्यक छ ।

धेरै ढिलाहुनुभन्दा पहिले नै आफ्ना स्वजनहरुलाई यस्तो गैरकानूनी र अहिलेको समाजले स्वीकार गर्न नसक्ने दुर्घटनाबाट जोगाउनु तपाईंको पनि दायित्व हो । मानिसले पाउने एउटा जीवन हो यसमा पनि हातपात, कुटपिट र तनावपूर्ण जीवन किन स्वीकार्ने रु समझदारी निर्माणको नाममा, कर्तव्यबोधको नाममा अपाराधलाई बढावा किन दिने ? यो सबैले बुझ्नुपर्ने विषय हो ।

यदि जीवन राम्रोसँग चलिरहेको छैन भने, हिंसाका घटना हुन्छन् धाक धम्की र कुटपिट हुन्छ भने यस्तो जीवनभन्दा न्याय र स्वाभिमानपूर्ण जीवन रोज्नु अन्यथा हुँदैन ।

परिवारिक र लैंगिक हिंसामा परेकाहरुलाई सहयोग गर्ने अनेकन संस्था अष्ट्रेलियामा छन् । यसैकारण आउनुस् यस विषयमा खुलेर कुरा गरौं, सहने बानी त्यागौं तर यसो भन्दैमा सानो सानो कुरामा सम्बन्ध नै तोड्ने भन्ने होइन तर ममाथि गलत भइरहेको छ भन्ने हेक्का राखौं र पीडकलाई पनि जानकारी दिउँ यो गैरकानूनी हो ।

यसले पनि समाधान नभए कानून कार्यान्वयन गर्ने निकायहरुको समन्वयमा समस्याको समाधान खोजौं । स्वाभिमानपूर्ण जीवनकै लागि त देशभन्दा टाढा परिवारभन्दा टाढा आएर एउटा समाज बनाएका छौं हामीले, यसमा पनि सम्झौता किन गर्ने ?

यदि तपाईं घरेलु हिंसा वा लैंगिक विभेदको शिकार हुनुभएको छ भने हामी एउटा सामूदायिक मिडियाको रुपमा सदैव पीडितको साथमा हुनेछौं । सम्पर्क गर्नुहोस् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?