सिंगापुर एयरको चार्टड फ्लाईटमार्फत आज २ सय ९८ जना स्वदेश फर्कदै !


नेपालीहरुमा सामाजिक दूरी कायम नगर्ने समस्या !

नेपाली दूतावास क्यानबेराको संयोजनमा निर्माण गरिएको अष्ट्रेलियाबाट नेपालीलाई स्वदेश फर्काउने कार्यदलको पहलमा आज थप २ सय ९८ जना सिड्नीबाट काठमाडौं जाँदैछन् । निर्धारित समय अनुसार राति ९ः३० मा विमान सिंगापुरका लागि उड्नेछ । एनआरएन अष्ट्रेलियाका युथ कोअर्डिनेटर समेत रहेका एभरेष्ट ट्राभल्स सिड्नीका निर्देशक एर्शाद अहमदका अनुसार सिड्नीबाट गएका २ सय ९८ जनालाई सिंगापुरमा करिब ५ घण्टा ट्रान्जिटमा बस्नुपर्नेछ । त्यसपछि दुईवटा विमानमा १४९, १४९ यात्रुलाई काठमाडौं लगिनेछ । सिड्नीबाट उडेको विमान राति ४ बजे सिंगापुर पुग्नेछ भने त्यहाँ करिब ५ घण्टा ट्रान्जिटपछि ९ बजे र १० बजे फ्लाईट काठमाडौंको लागि उड्नेछ । काठमाडौंमा ११ः५५ बजे र १२ः५५ बजे अवतरण हुने तालिका रहेको अहमदले जानकारी दिए ।

उनले भने, “३० किलो कलेज लैजान पाउनुहुनेछ । ७ किलो ह्याण्डक्यारी । आफुले बोक्ने व्याग चाहीँ ७ किलोभन्दा बढी नगर्न, अझ कम गर्न हामीले भनेका छौं । यसअघिको अनुभवले के देखायो भने विमानमा चढेपछि बुबाआमा एक्लै हुने, त्यहाँ कोरोनाका कारण विमान परिचारिकाहरुले व्याग ओभरहेड कम्पार्टमेन्टमा राख्न नरुचाउने र अभिभावकहरुले उचाल्न नसक्ने भएर पनि समस्या देखिएको थियो । यसैले हामी सकेसम्म ह्याण्डक्यारी आफुले उचाल्न सक्ने र ७ किलोभित्रै पार्न अनुरोध गरेका हौं ।”

एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कोरोना महामारीका कारण भएको लडकाउनमा अष्ट्रेलियामै रोकिन बाध्य भएका नेपाली नागरिकहरु काठमाडौं फर्काउनेक्रमको यो अन्तिम फ्लाईट भएको बताए । उनले भने, अझै पनि जान चाहने यात्रुहरु हुनुहुन्छ । तर, हामीले पैसा समेत लिइसकेका र अत्यावश्यक भएकाहरुलाई मात्रै पठाउने नीति अन्तर्गत हामीले कूल तीनवटा चार्टड उडान गरेका हौं । आगामी १७ तारिखबाट नेपाल सरकारले व्यवसायिक उडान नै खुल्ला गर्ने भनेकोले हामीले यो फ्लाईट नै अन्तिम चार्टड उडान बनाएका हौं ।

सामाजिक दूरी कायम नगर्ने समस्या !

अष्ट्रेलियाबाट स्वदेश फर्कने यात्रुहरुमा अधिकांश नेपाली अभिभावकहरु हुनुहुन्छ । छोराछोरीलाई भेट्न यहाँ आएकाहरु महामारीका कारण रोकिएका थिए । लामो समयसम्म घरबाट टाढा रहँदा उनीहरु आत्तिएका थिए । यसअघिको अनुभवले नेपाली यात्रुहरु विमानस्थलमा पुगेर सामाजिक दूरी कायम नगर्ने समस्या देखिएको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुंगले बताए । उनले भने, “हामीले अभिभावकहरुलाई भन्दा पनि उनका छोराछोरीलाई भन्न चाहन्छौं । कृपया सामाजिक दूरी कायम गर्ने, डेढ मिटरको दुरीमा मात्रै एकअर्का व्यक्तिसँग छुट्टिएर बस्ने कुरा समेत बुझाउनु पर्दा विमानस्थलकै कर्मचारी समेत दिक्क भएको पाएका छौं । यो सतर्कता हाम्रै लागि हो भन्ने बुझेर सबैले त्यसै अनुरुप व्यवहार गर्नुपर्यो ।”

ब्रिसबेनबाट बसमार्फत सिड्नी आउनुअघि एनआरएनका पदाधिकारीसहित खिचाएकोको तस्वीर । श्रोत : फेसबुक

एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुंगले भने, “सामाजिक दूरी कायम गर्नुको विकल्प छैन । उनले थपे, चार्टड फ्लाईटअघि अष्ट्रेलियामा गत ७ दिनभित्र गरेको पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट अनिवार्य छ । यस्तै नेपालको सीसीएमसीको फर्म समेत भरेकै हुनुपर्छ । अन्यथा उडानमा यात्रा गर्न पाइने छैन । पीआर र अष्ट्रेलियन नागरिक हो भने एयरपोर्ट पुग्नुअघि नै नोअब्जेक्सन लेटर लिएको हुनुपर्छ ।”

यात्रुहरुले १७ सय ५० अष्ट्रेलियन डलर भाडा तिरेको भएपनि चार्टड उडान सम्पन्न भइसकेपछि हिसाब गरेर बाँकी रहेको पैसा यात्रुहरुलाई नै फिर्ता गरिने जानकारी एनआरएन अष्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले दिए ।

आजको फ्लाईटमा काठमाडौं जान अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत नेपालीहरु सिड्नी पुग्ने भएका छन् । यसका लागि ब्रिसबेनबाट बसमार्फत यात्रुहरु सिड्नी आउँदैछन् भने तास्मानिया, साउथ अष्ट्रेलिया, पर्थ, डार्विनबाट समेत विमानमार्फत यात्रु सिड्नी पुगेका छन् । उनीहरुले काठमाडौं जाने विमानको भाडाबाहेक पनि थप १ सय ५० डलरको हाराहारीमा भाडा तिर्नुपरेको छ ।

नेपाल जानका लागि यात्रुहरुले १७ सय ५० अष्ट्रेलियन डलर भाडा तिरेको भएपनि चार्टड उडान सम्पन्न भइसकेपछि हिसाब गरेर बाँकी रहेको पैसा यात्रुहरुलाई नै फिर्ता गरिने जानकारी एनआरएन अष्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले दिए ।

यसअघि मालिन्डो एयरमार्फत १ सय ६१ जना स्वदेश फर्किएका थिए भने त्यसअघि सिंगापुर एयरमार्फत १ सय ४९ जना नेपाली स्वदेश फर्किएका थिए । सुरुमा नेपाल एरलाईन्सको २ वटा चार्टड फ्लाईट सिड्नी र मेलबर्नबाट भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?