प्रधानमन्त्री मोदीद्वारा राम मन्दिरको भूमिपूजनका साथै शिलान्यास !


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार अयोध्यामा हिन्दू मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका छन् । मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा स्थापना गरेका हुन् ।भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो । त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो ।

दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो । राम मन्दिरको शिलान्यास भारतमा कोरोनाभाइरसको सङ्क्रमणमा ह्वात्तै वृद्धि भइरहेको समयमा भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलान्यासपछि भने, ५०० वर्ष लामो र कडा सङ्घर्ष लोकतान्त्रिक र संविधानसम्मत तरीकाले सम्पन्न भएको छ । भूमिपूजा कार्यक्रममा भाग लिन पुगेका योगगुरू रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरेका छन् । रामदेवले भने, राम मन्दिर निर्माणको कार्यक्रम देख्न पाउनु भारतको सौभाग्य हो ।

ूदेशमा रामराज्य स्थापित गर्न पतञ्जलि योगपीठले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने छ । संसारभरबाट आध्यात्म र आयुर्वेदका लागि त्यहाँ मानिसहरूले अध्ययन गर्न आउन सक्नेछन् ।

सन् १९९२ मा हिन्दूहरूको भिडले सो मस्जिद भत्काइदिएको थियो । त्यतिखेर भारतीय जनता पार्टीका तत्कालीन वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतले राम रथयात्राको आयोजना गरेका थिए ।

त्यसपछि भएको साम्प्रदायिक दङ्गामा भारतभर कम्तीमा २,००० मानिसको मृत्यु भएको थियो । भारतीय जनता पार्टी तथा उसको निकट रहेको राष्ट्रिय स्वयंसेवक सङ्घले सो स्थानमा राम मन्दिर बनाउने पटकपटक उद्घोष गर्दै आएका थिए । गत वर्षको सर्वोच्चको फैसलापश्चात् त्यहाँ भव्य राम मन्दिर निर्माणको नक्सा बनाउन थालिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?