नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतक संख्या ५९ पुग्यो !


नेपालमा कोरोना भाइरस (कोभिड–१९)का कारण थप एक जनाको ज्यान गएको छ । पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।

उनलाई पखाला लागेको थियो । उनको अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?