अब भिक्टोरियामा कोरोना फैलाउनेगरी लापर्वाही गरे २० हजार डलरसम्म जरिवाना !


अष्ट्रेलियाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले मंगलबार एक घोषणा जारी गर्दै अबदेखि आईसोलेसनमा बस्नुपर्ने अवस्थाका व्यक्तिहरुले यो नियम पालना नगरे ४ हजार ९ सय ५० डलर जरिवाना तिर्नुपर्ने बताएका छन् । पहिलो पटक करिब ५ हजार जरिवाना गरिएपनि दोश्रो पटक पनि आईसोलेसनमा नबसी सार्वजनिक स्थानहरुमा भेटिएमा उनीहरुलाई २० हजार डलरसम्म जरिवाना गर्ने नियम उनले सार्वजनिक गरेका हुन् ।

एक तथ्यांक अनुसार अष्ट्रेलियन सैनिकहरुले करिब ३ हजार घरहरुमा गरेको अनुगमनमा घरमै आईसोलेसनमा बस्नुपर्ने ८ सयभन्दा बढी मानिस घरबाहिर गएको पाइएको थियो । यस्तो भयावह अवस्था भइसक्दा पनि आईसोलेसनमा बस्नका लागि दिइएको निर्देशनलाई अवज्ञा गर्दै घर बाहिर जाने, काममा समेत गइदिने प्रवृत्ति बढ्दै जाँदा राज्यमा कोरोनाको संक्रमण बढ्दै गएको छ । यसैकारण चौथो तहको लकडाउन सुरु गरिएको तेश्रो दिन प्रिमियर एन्ड्रयूले कडा जरिवाना सम्बन्धी नियम सार्वजनिक गरेका हुन् ।

उनका अनुसार थप गरिएका ५ सय सैनिक जवान र ४ सय स्वास्थ्य विभागका कर्मचारीले कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु र निजको निकट रही सेल्फ आईसोलेसनमा बस्नका लागि निर्देशन दिइएका व्यक्तिहरुको निरन्तर अनुगमन गर्नेछन् । उनकै भाषामा अचानक र बारम्बार ढोका ढक्ढकाईरहनेछन् । भिक्टोरियाकी पुलिसमन्त्री लिसा नेभिलीले भनिन्, सेल्फ आइसोलेसनमा बस्ने नियमलाई बारम्बार उल्लंघन गरेमा पक्राउ गरी जेलमा समेत राख्न सकिनेछ ।

निषेधाज्ञामा पास ल्याइँदै

भिक्टोरियाको मेलबर्न महानगर क्षेत्रमा राति ८ बजेदेखि विहान ५ बजेसम्म लगाइएको निषेधाज्ञाको समयमा काममा जानुपर्ने अत्यावश्यक सेवाका कर्मचारीको लागि पास वितरण गर्ने तयारी सरकारले गरेको छ । यस्तो पासका लागि अनलाईन फर्म भर्नुपर्नेछ । प्रिमियर एन्ड्रयुले भने, यो फर्ममा तपाईंको काम गर्ने ठाउँको व्यक्तिले र तपाईंले सही गर्नुपर्नेछ । यति भएपछि एउटै कुरा १७ ठाउँमा देखाउने झन्झट रहने छैन । तर, नियम उल्लंघन गर्नेलाई हामी छोड्ने छैनौं । यसबाहेक प्रहरीले प्रहरी आईडीका आधारमा र अस्पतालका कर्मचारीले अस्पताल आईडीका आधारमा पनि यात्रा गर्न पाउनेछन् । भिक्टोरियामा सोमबार मात्रै पनि २१ हजार कोरोना टेष्ट गरिएको थियो । जसमा ४ सय ५६ जनामा कोरोना संक्रमण फेला परेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?