मेलबर्नको चौथो तहको लकडाउनमा यी व्यवसाय खोल्न नपाइने !


अष्ट्रेलियाको भिक्टोरिया राज्यमा तेश्रो तहको लकडाउन र मेलबर्न महानगर क्षेत्रमा चौथो चरणको लकडाउन सुरु भएपछि अब के गर्न पाइने के गर्न नपाइने भन्ने विषयमा थप स्पष्ट पार्दै प्रिमियर डेनियल एन्ड्रयूले नयाँ जानकारी सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा उपस्थित भएका उनले ४ सय २९ नयाँ कोरोना संक्रमित भेटिएको बताए । यस्तै १३ जनाले ज्यान गुमाएको पनि उनले जानकारी दिए । एन्ड्रयूका अनुसार चौथो तहको लकडाउनमा अबको ६ हप्ता राति ८ बजेदेखि विहान ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ । जसमा मेडिकल, केयरगिभिंगसँग सम्बन्धित बाहेक कामदार आवत जावत गर्न पाउने छैनन ।

यस्तै आफ्नो घर रहेको ठाउँबाट ५ किलोमिटर वरपर बाहेक किनमेलका लागि जान नपाइने भएको छ । एक घरबाट एक पटकमा एकजना मात्र बाहिर निस्कन पाउनेछन् ।

कपडा बिक्री गर्ने, जुत्ता बिक्री गर्ने स्टोर र फुडकोर्टहरु बुधबार मध्यरातदेखि बन्द गराइनेछ । कार धुने सेन्टरहरु पनि बन्द हुनेछन् । मायर, केमार्ट तथा बनिंगहरु खुलेपनि त्यहाँ गएर किनमेल गर्न पाइने छैन । क्लीक एण्ड कलेक्ट अन्तर्गत सामग्री लिन सकिनेछ ।

निर्माण क्षेत्रमा पनि तीन तल्लाभन्दा बढीको घर निर्माणमा संलग्न कूल कर्मचारीको २५ प्रतिशत कामदार मात्रै काममा संलग्न हुन पाइनेछ । सामान्य घरहरुमा काम गर्नेहरु एकपटकमा ५ जनाभन्दा बढी काममा जान नपाइने नियम छ ।

मासु लगायतको क्षेत्रमा काम गर्नेहरुले आफ्नो उत्पादन क्षमताको एक तिहाई मात्र उत्पादन गर्न पाउनेछन् । सरसफाई र बगैंचाको हेरचाह गर्नेहरु काममा जान ६ सातासम्म पाउने छैनन । तर कतै आपत परेर प्लम्बरलाई बोलाउनु परेको अवस्थामा यस्तो स्वीकृत दिन सकिनेछ । यस्तै कपाल काट्ने र व्यूटी पार्लरहरु पनि अबको ६ साताका लागि बन्द हुनेछन् ।

ग्रामीण भिक्टोरियाका प्रभावित व्यवसायहरुले ५ हजार डलरको अनुदानको लागि आवेदन दिन सक्नेछन् भने र यसअघि लिइसकेको भएपनि मेलबर्न महानगर क्षेत्रका व्यवसायहरुले थप ५ हजारका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यससँगै व्यवसायहरुले कूल २० हजार डलरको अनुदान पाउन सक्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?