रोकिएको उद्धार उडान सुरु, आजै ९ उडानमार्फत नेपाली स्वदेश फर्कंदै !


केही दिन रोकिएको उडान आज शुक्रबारदेखि फेरि सुरु भएको हो । चौथो चरण उद्धार उडान आजदेखि साउन २४ गतेसम्मका लागि तय भएको छ । आज शुक्रबार विभिन्न देशबाट ९ उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । मलेसियाबाट मलिण्डो एअरले त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउने छ भने आज कुवेतबाट मात्रै चार उडानबाट नेपाली घर फर्कंदै छन् । हिमालय एअरको दुई उडानमार्फत कुवेतबाट नेपालीहरु स्वदेश फर्कंदै छन् ।

कुवेतबाटै जजिरा एअरका दुई जहाज पनि आज नेपाली लिएर आउँदैछन् । यूएईको दुबईबाट फ्लाई दुबईको एक उडानमार्फत आज नेपालीहरु स्वदेश आउँदैछन् । आज श्री एअरलान्स बैंकक गएर आउने छ भने हिमालय एअरलान्सको एक जहाज कुनमिङ् गएर आउने छ । गुआन्जाउबाट चाइना साउर्दन एअरलाइन्स पनि नेपाल आउँदै छ ।

आजै हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका जहाज कुवेत, यूएई र कतारमा त्यहाँ समस्यामा रहेका नेपाली लिन जाँदै छन् । कोरोना महामारीपछि उडान बन्द हुँदा समस्यामा परेका विभिन्न २९ देशबाट ३५ हजार ८०४ जना हवाइमार्गमार्फत स्वदेश फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?