अष्ट्रेलियाबाट ३० जुलाईमा १ सय ६० जना स्वदेश फर्कने !


अष्ट्रेलियाबाट आगामी जुलाई ३० तारिख १ सय ६० जना नेपाली स्वदेश फर्कने भएका छन् । नेपाली दूतावासले एनआरएन अष्ट्रेलियाको संयोजकत्वमा निर्माण गरेको स्वदेश फिर्ती कमिटीका तर्फबाट संयोजक केशव कँडेलले एक नोट सार्वजनिक गर्दै ३० गते स्वदेश फर्कने फ्लाईटमा फस्र्ट कम फस्र्ट सर्भ, अतिजरुरी कारणले यात्रा गर्नुपर्ने कारणलाई आधार मानेर १ सय ४८ जना ईकोनोमी क्लासमा र १२ जना विजनेस क्लासमा यात्रा गर्नका लागि पत्राचार गरिने जानकारी दिएका छन् । मालिन्डो एयरमार्फत हुन लागेको यो चार्टड फ्लाईट हो । यसअघि दुईवटा चार्टड फ्लाईट नेपाल एयरलाईन्सको विमानमार्फत र एउटा सेमी चार्टड फ्लाईट सिंगापुर एयरलाईन्स मार्फत भइसकेको छ ।

एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष कँडेलले यो विमान सिड्नीबाट उड्ने र यात्रुले एकपटक विमानमा बसिसकेपछि सिधै काठमाडौंमा मात्रै उत्रिनुपर्ने जानकारी दिए । यसअघिको सिंगापुर एयरको विमानमा सिंगापुरमा केही समयको ट्रान्जिट थियो । जहाँ अष्ट्रेलियाका विभिन्न शहरबाट आएका यात्रुहरु एकै ठाउँमा भेला भएर त्यहाँबाट चार्टड गरिएको अर्को विमानमा जानुपर्ने थियो ।

यसअघि सिड्नी र मेलबर्न र ब्रिसबेनहुँदै चार्टड फ्लाईट भइसकेका कारण यो पटक यी बाहेकका राज्यबाट जान चाहने नेपाली यात्रुलाई पनि प्राथमिकताको सूचिमा राखिएको छ ।

यस पटक अघिल्लो सेमी फ्लाईट चार्टड विमानको भन्दा ३१ डलर सस्तो पर्नेछ । अघिल्लो पटक सिंगापुर एयरमा ११ सय ५१ डलरमा यात्रा गरेका थिए भने त्यसअघि नेपाल एयरलाईन्समा १६ सय ३५ डलरमा अष्ट्रेलियाबाट नेपालीहरु स्वदेश फर्किएका थिए । आगामी भदौ १ गते अर्थात् मध्य अगष्टबाट केही अन्तर्राष्ट्रिय उडानहरु खोल्ने सरकारले निर्णय गरिसकेको छ ।

एनआरएन अष्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले पैसा तिरेर स्वदेश जानका लागि तयारी अवस्थामा बसेकामध्ये १ सय ८० जनालाई पत्राचार गरिएको र तिमध्ये १ सय ६० जना जान पाउने जानकारी दिए । उनले भने, “३० जना हामीले वेटिंग लिष्टमा राखेका छौं । यदि पिसीआर टेष्ट वा अन्य कुनै कारणबाट कुनै यात्रु जान नपाएको अवस्थामा उहाँहरुले अवसर पाउनुहुनेछ ।”

मेलबर्नका यात्रु जान नपाउने

यसअघि सिड्नी र मेलबर्न र ब्रिसबेनहुँदै चार्टड फ्लाईट भइसकेका कारण यो पटक यी बाहेकका राज्यबाट जान चाहने नेपाली यात्रुलाई पनि प्राथमिकताको सूचिमा राखिएको एनआरएन ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डेले जानकारी दिए । उनले भने, “हामीले बैठकमा वेष्टर्न अष्ट्रेलिया, साउथ अष्ट्रेलिया, होबार्टका यात्रुलाई प्राथमिकता दिने निर्णय गरेका छौं । उहाँहरुले आन्तरिक हवाई उडानमार्फत सिड्नी आउनुपर्ने हुन्छ । त्यसपछि यो चार्टड फ्लाईटमा जाने व्यवस्था मिलाईनेछ ।”

यता मेलबर्नमा रहेको कडा लकडाउनका कारण मेलबर्नबाट सिड्नीमा जाने हरकसैले १४ दिने क्वरेन्टाईनमा बस्नुपर्ने प्रावधान रहेकाले यस पटक कोही जान नपाउने भएका छन् ।

यसपछि अर्को फ्लाईटका लागि प्रयास गर्ने सम्भव नभएमा भदौ १ गतेबाट अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय नेपाल सरकारले गरेका कारण यसअघि एनआरएन अष्ट्रेलियाको खातामा पैसा बुझाईसकेका यात्रुलाई रकम नै फिर्ता गरिने एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले जानकारी दिए । अहिले नै ५० जनाभन्दा बढीले रकम फिर्ताको लागि निवेदन दिइसकेको जानकारी पोखरेलले दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?