पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छः बाँस्कोटा !


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताए । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ नदिने उनको भनाइ थियो ।

सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे । उनले प्रश्न गरे, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?”

बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताए । उनले भने, “जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसात् गर्नुपर्छ, सबै समस्या हल हुँदै जान्छन् ।” उनले भण्डारीको विचारलाई जनताको मनमनमा पु¥याउनुपर्नेमा पनि जोड दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?