अष्ट्रेलियाको भिक्टोरियामा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दो, २४ घण्टामा ४ सय ८४ !


अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा ४ सय ८४ नयाँ कोरोना संक्रमित भेटिएपछि यतिबेला त्रासको वातावरण बनेको छ । यससँगै सेल्फ आईसोलेसनमा बस्नका लागि दिइएको निर्देशन ९० प्रतिशत मानिसहरुले पालना नगरेको तथ्यांक समेत डरलाग्दो रुपमा बाहिर आएको छ ।

भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले एक पत्रकार सम्मेलनमार्फत यी तथ्यांक सार्वजनिक गर्दै दुई जना कोरोना संक्रमितको मृत्यु भएको र उनीहरु ९० वर्ष हाराहारीका भएको जानकारी दिएका छन् ।

प्रिमियर एन्ड्रयूले यस्तै लापर्वाही भइरहने हो भने संख्या अझै बढ्ने चेतावनी दिए । कोरोनाको संक्रमणको आशंकामा परीक्षण गराएका व्यक्तिहरुले नतिजा नआउँदासम्म आफैं आईसोलेसनमा बस्नुपर्नेमा यस्तो नगरको पाइएको छ । १० जनामध्ये ९ जनाले यसलाई पालना नगरेको पाइएको हो ।

सरकारले सेल्फ आईसोलेसनमा बस्नेहरुलाई १५ सय डलर राहत दिने घोषणा गरेको भएपनि यस्ता घटना बढिरहनु चिन्ताको विषय भएको प्रिमियर एन्ड्रयूको भनाई थियो ।

उनले यस्तो रकमलाई बढाउने विषयमा पनि छलफल भइरहेको बताए ।

यदि तपाईंलाई पनि कोरोनाका लक्षणहरु देखिएका छन् भने वा आफुलाई कोरोना लागेको हो कि भन्ने आशंका छ भने कृपया १८००६७५३९८ मा परामर्शका लागि फोन गर्न सक्नुहुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?