बाढी पहिरोका कारण ३६ सडक पूर्ण अवरुद्ध, हालसम्म १ सय २३ को ज्यान गयो


हरेक वर्षजस्तै यस वर्ष पनि मनसुनमा बाढी पहिरोको प्रकोपले नेपालीको ज्यान लिने क्रम यथावत छ । पर्याप्त सतर्कताको अभावमा १ सय २३ नेपालीको ज्यान गइसकेको छ । मंगलबार मात्रै यही प्राकृतिक विपत्तिमा ९ जनाको जीवनलीला समाप्त भयो । जेठ ३० मा मनसुन सुरु भएपछि साना–ठुला पहिरोका कारण देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग र ग्रामिण सडकमा ठुलो क्षति पुगेको छ । पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौं आवत–जावतको मुख्य सडक पृथ्वी राजमार्गमा ठुलो क्षति पुगेको छ । सरकारले तदारुकताका साथ एकतर्फी बाटो खुलाएपनि पूर्णरुपमा सञ्चालन हुन महिनौं लाग्ने अवस्था छ ।

पृथ्वी राजमार्गस्थित चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा क्षति पुग्यो, धेरै ठाउँमा पहिरो खसेको छ । बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोला पुल बाढीले बगाएको छ ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ जम्बुमा याल्मो खोलाको बाढीले ठूलो क्षति गरेको छ । २४ असारमा आएको सो बाढीले बेपत्ता बनाएका १६ जनाको अझै अत्तोपत्तौ छैन ।

अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परेर देशभर ११९ जना घाइते भएको प्रहरीले जनाएको छ । मनसुनी बाढी र पहिरोका कारण घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
बाढी र पहिरोले देशभर ४६ जनालाई बेपत्ता बनाएको छ । तराई–मधेशका धेरै भुभाग डुवानमा परेका छन् ।

अविरल वर्षाको कारण आएको बाढी र पहिरोबाट साना–ठूला ३६ राजमार्ग र सहायक राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन् । विभागले ग्याविन जाली भरेर पृथ्वी राजमार्गको मौवाखोलाको पुलसँगै भत्केको सडक संचालनमा ल्याउने प्रयास गरिरहेको छ । स्थानीय निकायहरुले बैकल्पिक बाटो खोलेर आवत जावत सहज बनाउने प्रयास गरिरहेका छन् ।

मंगलबार काठमाडौंमा २ सहित ९ जनाको मृत्यु

तीन दिनदेखि परेको अविरल वर्षाका कारण मंगलबार ९ जनाको ज्यान गएको छ । काठमाडौंको टोखा नगरपालिका–१ तासीडाँडामा पहिरोले पुरिएर ३ बर्षका जुम्ल्याहाको मृत्यु भयो ।
धनकुटाको भेरी–२ गुराँसे घर भएका रामकुमार रानामगरका छोरा सचिन र छोरी सन्ध्याको मृत्यु भएको हो । यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी–६ स्थित गल्याङमा सोमबार राति आएको पहिरोले पुरिएर २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो ।
नवलपरासी ९सुस्ता पूर्व०को बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरेर शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी ९सुस्ता पूर्व०का एसपी दिपक रेग्मीले जानकारी दिए । मृतक दम्पत्ति हुन् ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ मा पहिरोले घर पुर्दा सुतिरहेका २४ वर्षीय अर्जुन दर्जी र १८ वर्षीय मिलन दर्जीको ज्यान गएको छ ।
बिहान करिब ३ बजे आएको पहिरोले स्थानीय लक्ष्मी ढोली गम्भीर घाइते भएकी छिन् । उनको छोरा ९ वर्षीय सुगम परियार र १२ वर्षीया छोरी सोनिया परियार सामान्य घाइते भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?