नेपालमा सरकारविरोधी प्रदर्शन गर्ने अष्ट्रेलियनलाई २० हजार जरिवाना, २ वर्ष प्रवेशमा प्रतिबन्ध !


Photo Credit : Galani’s Facebook

नेपालमा सरकारविरोधी प्रदर्शन गर्ने अष्ट्रेलियनलाई २० हजार जरिवाना, २ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध
नेपालमा सरकारका विरुद्ध प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेकाअष्ट्रेलियन नागरिक कलानी गाकोनलाई २० हजार जरिवाना गरिएको छ । उनलाई अध्यागमन विभागले जरिवाना तिराएको हो । यससँगै अन्तर्राष्ट्रिय विमान सेवा खुल्ने बित्तिकै निजलाई देश निकाला गर्ने निर्णय पनि भएको छ । यस्तै आगामी २ वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइनेछ ।

यससँगै अध्यागमन विभागले उक्त प्रदर्शनमा सहभागी भएका अन्य ५ जनालाई पनि थुनामुक्त गरिदिएको छ । तर अन्तर्राष्ट्रिय उडान सुरु हुनेबित्तिकै देश छोड्नुपर्ने कागजातमा सही गराइएको छ । उनीहरुको पासपोर्ट अध्यागमन विभागमा नै रहेको र उनीहरुलाई उडान सुरु भएको १५ दिनभित्र निष्काशन गरिने अध्यगमन विभागका निर्देशक रमेशकुमार केसीले बताए । उनका अनुसार नर्वेजियन नागरिक मरिता लिभरोदलाई भने नेपालीसँग बिहे गरेर वैवाहिक भिसा लिएका कारण ५ हजार मात्र जरिवाना गरिएको छ ।

यस्तै तीन जना चिनियाँ नागरिक र एकजना अमेरिकी नागरिकलाई १० हजार जरिवाना गरिएको छ ।

को हुन कलानी ?

२४ वर्षीय अष्ट्रेलियन युवा कलानी ब्लू माउन्टेन क्षेत्रको कटुम्बाका बासिन्दा हुन् । उनी कोरोना संक्रमणका कारण लकडाउन हुनुअघि नेपालमा गरिब बच्चाहरुलाई खाना खुवाउने कार्यका लागि स्वयंसेवा गर्न भनी त्यहाँ गएका थिए । उनीले भने पक्राउ परेपछि आफुले प्रदर्शनकारीको भिडियो मात्र खिचेको प्रदर्शनमा सहभागी नभएको बयान दिएका थिए ।

उनकी आमा एलेक्जान्ड्रा गाकोनले उनी फिल्ममेकर भएको बताइन् । ९ वर्षको उमेरदेखि नै फिल्म बनाउन थालेका उनी प्रदर्शनमा सहभागी नभएको आमाको प्रतिक्रिया थियो । यसअघि उनलाई १० हजार धरौटीमा रिहा गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?