नेकपाको विवाद, दुईपक्षले सकेन, त्रिपक्षीय छलफल सुरु, शुक्रबार स्थायी समिति बैठक


पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ¬‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको उहाँहरुको छलफल सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवासमा त्रयनेताको छलफलअघि अध्यक्ष दाहाल र नेता नेपालसहितका नेताहरुको दाहाल निवास खुमलटारमा छलफल भएको थियो । शीर्ष नेताबीच पार्टी र सरकारको समन्वय, शक्ति बाँडफाँट, कोरोना रोकथाम, अमेरिकी सहायता मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) सम्झौता आदि विषयमा विवाद छ । पार्टी एकताका बाँकी कामको कार्यसूची पनि स्थायी कमिटीको बैठकमा तय गरिएको छ । पटकपटक स्थगन भई गत असार २६ गतेका लागि तोकिएकोे स्थायी कमिटीको बैठक सात दिनपछि साउन २ गते बस्नुअघि शीर्ष नेताबीच घनीभूत छलफल हुन थालेको हो ।

असार २६ गते देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिइएको थियो । स्थायी कमिटीको बैठक असार १० गतेदेखि शुरु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?