मेलबर्नमा ४ जना नेपाली विद्यार्थीलाई कोरोना संक्रमण, २ जना नतिजा कुर्दै !


अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने ४ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण देखिएको छ । मेलबर्नको ग्लेनरोय क्षेत्रमा बसोबास गर्दै आएका यी नेपालीहरुमध्ये एकजनामा संक्रमण देखिएको र निजको सम्पर्कमा गएका अन्य ५ जनामा समेत कोरोनाको आशंकामा परीक्षण गर्दा तीनजनाको कोरोना पोजेटिभ देखिइसकेको छ भने २ जना परीक्षणको रिपोर्ट पर्खिरहेका छन् । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले ४ जना नेपालीमा कोरोना देखिएको पुष्टि गरे ।

उनले सबै ६ जना नै आफुहरुको सम्पर्कमा रहेको र उनीहरुलाई आवश्यक पर्ने मनोवैज्ञानिक र दैनिक खाद्यान्न लगायतको सहयोग गर्न तत्पर रहेको बताइसकेको जानकारी दिए । उनले एमएनटीभीसँग भने, “हामीले महामारीको अवस्थामा सर्तक र सचेत रहनै पर्दछ । कूल ६ जना नेपालीमध्ये ५ जना एउटै घरमा बस्नुहुने रहेछ । हामी यहाँ रहेका संघसंस्थारुसमेतको सहकार्यमा उहाँहरुलाई आवश्यक पर्ने सहयोग गर्न लागिरहेका छौं ।”

एनआरएन उपाध्यक्ष एवं भिक्टोरिया संयोजक प्रेम कँडेलले पनि कोरोना संक्रमणमा रहेकाहरुलाई चाहिने कुनैपनि सहोगका लागि आफुहरु तत्पर रहेको बताएका छन् ।

यसअघि अष्ट्रेलियामा कूल ११ जना नेपालीलाई कोरोना संक्रमण देखिएकोमा सबैजना निको भइसकेका छन् । यतिबेला भिक्टोरियाको ग्लेनरोय लगायतका क्षेत्र लकडाउनमा छन् । यी क्षेत्रलाई कोरोना संक्रमणका हिसाबले रेडजोनमा राखिएको छ । अत्यावश्यक काममा बाहेक घर बाहिर निस्किन निषेध गरिएको छ भने घरमा पाहुना बोलाउन पनि रोक लगाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?