जुलाई १४ तारिख अष्ट्रेलियाबाट नेपाल जाने तयारी, भाडा ११५१ अमेरिकी डलर !


नेपाली दूतावास क्यानबेराको संयोजनमा एनआरएन अष्ट्रेलियाको नेतृत्वमा अष्ट्रेलियामा रहेका विभिन्न सामूदायिक संघसंस्थाको संलग्नतामा आगामी १४ जुलाईका लागि नेपाल फर्किने सेमीचार्टड फ्लाईटको व्यवस्था भएको छ । सिंगापुर एयरलाईनसको नियमित फ्लाईटमार्फत सिंगापुरसम्म जाने र त्यहाँबाट चार्टड विमानबाट काठमाडौं जानका लागि तयारी गरिएको हो । यसरी जान चाहने यात्रुले अष्ट्रेलियाबाट काठमाडौंसम्मको भाडा ११ सय ५१ अमेरिकी डलर तिर्नुपर्नेछ । अहिलेका लागि मेलबर्न, ब्रिसबेन र सिड्नीबाट सिंगापुर जाने विमान सञ्चालित भएका कारण अन्य शहरका नेपाल जान चाहने यात्रुहरुले यी शहरसम्मको आफ्नो यात्राको व्यवस्थापन गर्नुपर्ने भएको छ ।

यसअघि नेपाल एयरलाईन्सको चार्टड विमानमार्फत नेपाल गएका यात्रुहरुले सिड्नी र मेलबर्नबाट क्वालालम्पुर हुँदै काठमाडौं जाने अवसर पाएका थिए । क्वालालम्पुरमा तेल हाल्नका लागि मात्रै विमान रोकिने भएका कारण विमानबाट बाहिर निस्कनुपर्ने अवस्था थिएन । तर, यस पटक भने अष्ट्रेलियाका विभिन्न तीन शहरबाट गएका विमानबाट ओर्लिएर विमानस्थल कार्यालयले तोकेको स्थानमा केही घण्टा प्रतिक्षा गर्नुपर्नेछ । यो सबै कार्य विश्व स्वास्थ्य संगठन र सिंगापुर सरकारले तोकेको मापदण्डभित्र हुने भएका कारण कुनै संक्रमणको खतरा नहरने उल्लेख छ ।

यसका साथै, नेपाल जान चाहने यात्रुहरुले अनिवार्य रुपमा पीसीआर टेष्टमा नेगेटिभ नतिजा आएको प्रमाण पेश गर्नुपर्नेछ । यसअघि दूतावासले संकलन गरेको लिष्टमा नाम भएका व्यक्तिहरु नेपाल जान पाउनेछन् । यस्तै यात्रुहरुले नेपालमा पुगेपछि त्यहाँ सरकारले लागू गरेको अनिवार्य क्वारेन्टाईन अथवा होम क्वारेन्टाईनमा बस्नका लागि सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अनुसार पारदर्शी रुपमा, सुरक्षित र सस्तो यात्राका लागि ५ वटा ट्राभल एजेन्सीहरुसँगको सहकार्यमा यो योजनालाई मूर्तरुप दिन लागिएको हो । अष्ट्रेलियामा सञ्चालित एभरेष्ट ट्राभल्स एण्ड टुर्स, काठमाडौं ट्राभल्स, हिमालयन एक्सपीरियन्स, ट्राभल पार्टनर सिड्नी, दा भिन्ची ट्राभल्स काठमाडौं र सुमेघ ट्राभल्स काठमाडौं छन् ।

एनआरएन अष्ट्रेलियाको खातामा रकम जम्मा गरी त्यसको रसिद संलग्न गरी आवेदन दिएको अवस्थामा यी ट्राभल एजेन्सीहरुले सम्बन्धित व्यक्तिका लागि आवश्यक पर्ने टिकटको व्यवस्था गरिदिनेछन् । सिधै यी ट्राभल एजेन्सीहरुमार्फत पनि टिकट काट्न सकिने व्यवस्था छ । टिकटको लागि तलको लिंकमा क्लीक गर्नुहोला –

https://docs.google.com/forms/d/10ghRnQ9BSTg_W9dxXzc5YQ_sRPEb7qBqjsti2GFG3V4/viewform?fbclid=IwAR0F_L0LoEnxBAIme3bqpjk_q31bNS6-o6dyx6-TjceRFb6WsYsO4Y4y0no&edit_requested=true

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले समूदायको भावना बमोजिम पारदर्शी रुपमा नेपाल फर्कन चाहनेहरुको लागि यो विशेष व्यवस्था गरिएको बताए । उनले भने, “यो एउटा नमूना कार्य हो जस्तो लाग्छ । दूतावासको भूमिका सहजकर्ताको, संयोजनकर्ताको मात्रै हो । समूदायका सदस्यहरु नै नेपाल जाने हुन्, उनीहरुले नै विमान कम्पनी, ट्राभल एजेन्सीहरुसँग समन्वय गरेर सुरक्षित र सस्तो टिकटको व्यवस्था गरेको छु भन्नुभएको छ । हामी उहाँहरुलाई सहयोग गरिरहेका छौं ।”

पहिलो फ्लाईटको लागि यो भाडादर तोकिए पनि यसपछि हुने अन्य फ्लाईटमा पनि यसैगरी हामी समूदायका सबै अगुवाहरु बसेर छलफलको माध्यमबाट नै भाडादर तोक्छौं । योभन्दा पारदर्शी विधि अरु के नै हुन्छ र ?

एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल पनि कोरोनाको कारण मारमा परेका अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले नै आफुहरु अघि आएको बताउँछन् । उनले एमएनटीभीसँग भने, “निस्वार्थ भावले हामीले काम गरेका छौं । सबै ट्राभल एजेन्टहरुलाई समान रुपमा अवसर पनि दिएका छौं । पहिलो फ्लाईटको लागि यो भाडादर तोकिए पनि यसपछि हुने अन्य फ्लाईटमा पनि यसैगरी हामी समूदायका सबै अगुवाहरु बसेर छलफलको माध्यमबाट नै भाडादर तोक्छौं । योभन्दा पारदर्शी विधि अरु के नै हुन्छ र ?”

अष्ट्रेलियामा रहेको नेपाली संघसंस्थाको प्रतिनिधि संस्था फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन्स अफ अष्ट्रेलिया फेन्काका महासचिव कृष्ण हमाल भन्छन् “समूदायले मिलेर कोरोनाबाट आर्थिक रुपमा आहत भएको समूदायलाई राहत दिनेगरी यो काम भएको छ । हाम्रो पहिलो प्राथमिकता यात्रुको स्वास्थ्य हो । र, सस्तो पनि हुनेगरी यो व्यवस्था गरिएको छ ।”

अष्ट्रालासियन नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसिएसन (ANMDA) का महासचिव एवं एनआरएन आईसीसीको उच्चस्तरीय समितिका सदस्य डा. कुश श्रेष्ठले पारदर्शी रुपमा काम भइरहेको बताउँदै पूरै चार्टड फ्लाईट गर्दा राम्रो हुने भएपनि यो अलि महँगो भएका कारण सेमी चार्टड स्वीकार गरिएको तर स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । उनले भने, “नेपालमा गइसकेपछि दुई साता क्वारेन्टार्यनका साथै थप दुई महिना पनि एनआरएनले नै मोनिटर गर्नुपर्छ भन्ने मेरो धारणा छ ।”

यसअघि करिब ४ सय ५० नेपाली स्वदेश गएको भएपनि नेपाल जान चाहने १२ सय भन्दा बढी अष्ट्रेलियामा बाँकी नै छन् । यीमध्ये अधिकांश अभिभावकहरु रहेका छन् । सिड्नीको पहिलो फ्लाईटमा धेरै नेपाली स्वदेश फर्किएपनि त्यसपछि मेलबर्न फ्लाईटमा भने २ सय ११ जना मात्र गएका थिए । भाडादर महँगो भएको सर्वसाधारणको गुनासो थियो । त्यतिबेला नेपाल एयरलाईन्सको चार्टड फ्लाईटको भाडादर १६ सय १५ अमेरिकी डलर थियो ।

पछिल्लो समय अष्ट्रेलियाको मेलबर्नमा कोरोना संक्रमणको दर बढेपछि लकडाउनको अवस्था छ भने अन्य शहरहरुमा स्थिति नियन्त्रणमा आउने क्रममा छ ।

नेपालमा दैनिकजसो कोरोना संक्रमितको संख्या बढेको भएपनि यसैका कारण ज्यान गुमाउनेहरुको संख्या भने अन्यत्रभन्दा कम छ ।

आगामी जुलाई १४ तारिखका लागि तय भएको यो फ्लाईटका विषयमा नेपालको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालमया दूतावास मार्फत पत्राचार भइसकेको छ । अहिले हरेक विमानको प्रस्थान र अवतरणका विषयमा उच्चस्तरीय समितिले निर्णय गर्नुपर्ने नियम छ ।

एमएनटीभी अष्ट्रेलियाले सहुलियतपूर्ण र सुरक्षित रुपमा अष्ट्रेलियाबाट स्वदेश फर्कन चाहने नेपालीहरुको लागि समूदायको पहलमा व्यवस्था गर्नुपर्ने भन्दै जनताको बहस सञ्चालन गरेको थियो । कार्यक्रम यहाँ हेर्न सक्नुहुन्छ –

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?