के टिकटक अष्ट्रेलियामा प्रतिबन्धित हुन लागेको हो ?


अडियो र भिडियो मार्फत आफ्नो अभिनय कला देखाउने चर्चित एप टिकटक यतिबेला चर्चामा छ । भारतमा यो प्रतिबन्धित भइसकेको छ भने अमेरिकामा पनि यसलाई प्रतिबन्ध लगाउनुपर्ने चर्चा छ । स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक भारतमा प्रतिबन्ध लगाएकोमा खुशी व्यक्त गरेका छन् । पछिल्लो समय अष्ट्रेलियामा समेत यसलाई प्रतिबन्ध लगाउनुपर्ने माग हुँदै आएको छ । के यसमाथि अष्ट्रेलियामा प्रतिबन्ध लाग्छ त ?
प्रविधि विज्ञ ट्रेभोर लंगले टिकटकमाथि अष्ट्रेलियामा प्रतिबन्ध लगाउनु दुई देशबीचको सम्बन्धलाई अझ प्रभावित बनाउने कारण बन्नसक्ने बताएका छन् ।

अष्ट्रेलियामा १६ लाखभन्दा बढीले प्रयोग गर्ने यो एपले प्रयोगकर्ताहरुको नाम, जन्ममिति, ठेगाना लगायतको जानकारी राख्दछ । यसमा जम्मा पारिएका सूचना चिनियाँ सरकारी एजेन्सीहरुले समेत प्रयोग गर्ने गरेको आरोपले यो माहोललाई अझ तताएको छ । लांग भन्छन्, फेसबुक, “गुगल लगायत अमेरिकी कम्पनीहरुले पनि आफ्ना प्रयोगकर्ताहरुबाट यिनै सूचना जम्मा पार्दछन् । तर, अमेरिकामा यी सूचनामाथि सरकारको नियन्त्रण हुँदैन यद्यपि चीनमा भने परिदृश्य फरक छ ।”

यति हुँदाहुँदै पनि अष्ट्रेलियाले टिकटकमा प्रतिबन्ध नलगाउने विश्वास उनको छ । तर, सरकारी कर्मचारी र रक्षा क्षेत्रमा काम गर्नेहरुलाई भने यो एप नचलाउन निर्देशक आउनसक्ने उनको अनुमान छ ।
सन् २०१२ मा बेइजिंगमा सुरुवात गरिएको यो एपमा चिनियाँ विरोधी गतिविधिलाई नियन्त्रण गरिएको आरोप लाग्ने गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?