लकडाउनमा परेका ३ हजार जनालाई २ साताको भाडा छुट दिने भिक्टोरिया सरकारको घोषणा !


पछिल्लो समय कोरोनाको संक्रमण बढेपछि तत्कालका लागि लकडाउनमा राखिएको ९ वटा सार्वजनिक आवास टावरहरुका बासिन्दाहरुको २ साताको भाडा छुट दिने घोषणा राज्य सरकारले गरेको छ । प्रिमियर डेनियल एन्ड्रयूले शनिबारदेखि अनिवार्य लकडाउनमा रहेका उनीहरुलाई आर्थिक सहायता समेत उपलब्ध गराउने बताएका छन् । कोरोनाको संक्रमण उच्च देखिन थालेपछि कडा खालको प्रतिबन्धमा उनीहरु परेका छन् । यी ९ वटा टावरमा बस्ने व्यक्तिहरुमध्ये यदि कसैको यही लकडाउनका कारण काममा जान नसक्ने अवस्था आए उनीहरुलाई दुई साताको १५ सय डलर सहयोग दिइने भएको छ । कुनै काम नै नभएकाहरुलाई पनि यो दुई साताको लागि ७ सय ५० डलर सहयोग दिने उनले बताए ।

यहाँ रहेका ३ हजार जनाको नै कोरोना परीक्षण गरिने र यो अनिवार्य परीक्षणको नतिजाका आधारमा उनीहरुलाई कति दिनसम्म लकडाउनमा राख्ने तय हुनेछ । प्रिमियरले कम्तिमा दुई साताका लागि तयार रहन भनेका छन् । फ्लेमिंगटन र नर्थ मेलबर्नका यी ९ वटा टावरहरुमा बस्नेमध्ये २३ जनामा कोरोना संक्रमण देखिएको थियो । १२ परिवारका यी व्यक्तिहरुबाट अन्यमा पनि तिव्र गतिमा फैलिनसक्ने आशंकामा लकडाउन गरिएको हो । प्रहरी हरेक तल्लामा तैनाथ भएका छन् भने उनीहरुलाई आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्री उपलब्ध गराइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?