बालुवाटारमा ६ नेताको बैठक, के आउला निष्कर्श ?


सत्तारुढ नेकपाभित्रको सत्तासंघर्ष चरम रुपमा अघि बढेको छ । पार्टी फुटतिर गइरहेको संकेत आएपनि अझै वार्ता र छलफलहरु जारी नै छन् । आजै पनि नेकपाका दुई अध्यक्षले आफ्ना दुई दुई सहयोगीलाई साथमा लिएर यतिबेला वार्ता गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्डका साथमा एकताका सूत्रधार जनार्दन शर्मा र विष्णु पौडेल तथा शंकर पोखरेल र वर्षमान पुन थपिएका छन् । राष्ट्रपति भवन पुगेर फर्किएपछि प्रचण्ड सिधै बालुवाटार गएका हुन् । यसअघिको बैठकमा भने विष्णु पौडेल र जनार्दन शर्मा मात्र सहभागी थिए । उक्त भेटमा प्रधानमन्त्रीले आफ्नै अडान प्रस्तुत गरेका थिए भने पार्टीले कारवाही गरोस म अघि बढ्छु नयाँ पार्टी बनाउँछु भन्ने अभिव्यक्ति दिएको बताइएको छ । आजको यो वार्तालाई निर्णायक बताइएको छ । यसबाट नै दुबै पक्षले कसरी अघि बढ्ने निक्र्यौल निकाल्नेछन् ।

यसअघि राष्ट्रपतिलाई भेट्न पुगेका तीन शीर्ष नेताहरु प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिसम्म गलत सूचना पठाइएको भन्दै महाअभियोगका विषयमा कसैले पनि नसोचेको बताएका थिए । साथै, पार्टीको विषय पार्टीमा नै मिल्ने भएकोले राष्ट्रपति संस्थाले विवादमा आउने काम गर्न नहुने उनीहरको भनाई थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?