स्टालिनपछिको सबैभन्दा बढी सत्तामा टिक्ने नेता बन्दै पुटिन, पुनः उम्मेदवारी दर्ता


रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गर्नुभएको छ । आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उहाँले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको अधिकारीहरूले बताएका छन् ।
उहाँको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ । पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहधानी र आवश्यक पर्ने हस्ताक्षर समेत बुझाउनु भएको छ । रसियामा तानाशाही जोसेफ स्टालिनले सबैभन्दा धेरै समय शासन गरेका थिए भने त्यसपछि धेरै पुटिनले शासन गर्नुभएको छ ।
लामो समय रसियाको सत्ताको नेतृत्व गरेका ६५ बर्षिय पुटिनले अहिलेको निर्वाचनमा पनि विजयी भएमा आफ्नो कार्यकाल २०२४ सम्म लम्ब्याउनु हुनेछ ।
यस पटक पनि एक दिन अगाडी ख्याती प्राप्त व्यक्तिहरु, राजनीतिज्ञहरु र खेल क्षेत्रका अगुवाहरु गरी झण्डै छ सय जनाले पुटिनको उम्मेदवारीका लागि एकै ठाँउमा भेला भएर समर्थन जनाएका थिए । यसै हप्ताको सुरुमा निर्वाचन अधिकारीहरुले प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेका थिए । उनीहरुको निर्णयलाई नेता एलेक्सीले भने राजनीतिक पुर्वाग्रहबाट प्रेरित भएर गरिएको निर्णयको संज्ञा दिनु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?