मेलबर्नमा सप्ताह, आज तेश्रो दिन, सहभागीको उत्साह झन बढ्दो !


नेपाली सामूदायिक केन्द्र स्थापना गर्ने उद्देश्यका साथ मेलबर्नमा सञ्चालन गरिएको भागवत वाचन सप्ताहमा उपस्थिति उत्साहजनक देखिएको छ । उद्घाटनको दिन सोमबार करिब एक हजारभन्दा बढीको उपस्थिति रहेको सप्ताहमा दोश्रो दिन मंगलबार पनि उपस्थिति तीन सयभन्दा बढी थियो । नेप्लीज अष्ट्रेलियन मल्टीकल्चरल सेन्टरका अध्यक्ष चन्द्रदिपक पोखरेलले उपस्थितिबाट आफुहरु निकै उत्साही बनेको प्रतिक्रिया दिएका छन् । उनको भनाई छ, “यहाँ आउने नेपालीहरुले आजीवन सदस्य बन्ने र यो कार्यलाई सहयोग गर्न जुन उत्साह देखाउनुभएको छ यो निकै प्रशंसनीय छ । मेरो ८४ वर्ष कटिसक्नुभएको बुबाले पनि आजीवन सदस्य बन्छु भनेर मंगलबारै मात्र भन्नुभयो । यसले हामीलाई थप प्रेरणा प्रदान गरेको छ ।”
मेला आयोजक समितिका सचिव केशव कँडेल पनि उपस्थिति मात्र होइन, यहाँ आएर सन्तुष्ट भएर फर्किएका भक्तजनहरुलाई देख्दा निकै प्रफुल्लित छन् । उनी भन्छन्, “हामीले सामूदायिक केन्द्र बनाउने जुन अभियान अगाडि बढाएका छौं यसमा एउटै मात्र भए पनि ईंटा थप्ने काम गर्न सबैलाई आह्वान गर्दछौं । तर, यो दान हो यसमा कुनै करकाप छैन । कसैले पनि तपाईंहरुलाई जबर्जस्ती गर्दैन । तर, आफ्नै लागी र सामूदायिक केन्द्रको स्वामित्व समेत महसूस गर्नका लागि यसको आजीवन सदस्य बन्नुहुन हामीले सबैलाई अनुरोध गरेका छौं ।” आजीवन सदस्यता मात्र होइन, वाचन प्रविण दिनबन्धु पोखरेलको भागवत वाचन र भजन सुन्नका लागि दिउँसो ३ बजेदेखि मन्दिरमा आएर साँझ आरतीसम्म पनि बस्नेहरुको संख्या उल्लेख्य छ । अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सहयोग र सहयोगको प्रतिबद्धता आइसकेको छ । बुधबार, बिहीबार दर्शनार्थीहरुको सहभागिता निरन्तर रहने अपेक्षा आफुहरुले गरेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको कोषाध्यक्ष राजेश आचार्यको भनाई छ । आचार्य भन्छन्, “सहयोगलाई पारदर्शी ढंगबाट परिचालन गरिने म प्रतिबद्धता व्यक्त गर्दछु । साथै, नेपालीको वर्षौंदेखिको यो सपनालाई साकार पार्न हामी सबै जुटौं भन्ने अनुरोध गर्दछु ।”
यसअधि गत सोमबार एनआरएनका पूर्वअध्यक्ष शेष घले र भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले सप्ताहको उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि शेष घलेले आफ्नो गच्छे अनुसार सहयोग गर्न आग्रह गर्नुभएको थियो । अरुको लहलहैमा लागेर होइन, आफ्नो मनदेखि नै कति सहयोग गर्न ईच्छा छ त्यति नै सहयोग गर्न म सबैलाई अनुरोध गर्दछु । घलेको भनाई थियो । यस्तै महावाणिज्यदूत योञ्जनले नेपालबाट अष्ट्रेलिया आएको दशकौं बितिसकेको भन्दै आफुहरुले यही धर्तीमा मर्ने निर्णय गरिसकेको सुनाउनुभएको थियो । यसैले हाम्रो नेपालीपनको, नेपालीहरुको लागि यो सामूदायिक केन्द्र बनाउने कार्यमा लाग्न सबैलाई आग्रह गर्दछु । योञ्जनको भनाई छ । उत्तः अवसरमा वर्तमान अध्यक्ष चन्द्रदिपक पोखरेल पूर्व अध्यक्ष रञ्जन वैद्यले भिक्टोरियाका नेपालीहरुको आफ्नै सामूदायिक केन्द्र बनाउने सपना साकार बनाउन सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, क्षेत्रीय उपसंयोजक ईश्वर कुईकेल, सचिव नारायण कोइराला पनि सहभागी थिए । कार्यक्रममा कोष व्यवस्थापनको विषयमा कोषाध्यक्ष राजेश आचार्यले जानकारी दिएका थिए भने धन्यवाद ज्ञापन महासचिव केशव कँडेलले गरेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन सामूदायिक केन्द्रका सचिव नारायण काफ्लेले गरेका थिए । उद्घाटन अघि कलश यात्रा गरिएको थियो ।

Pic Credit : Solangture/NepalitimesMelbourne/ANMC

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?