आठ सय ५० अभिभावक एकै ठाउँमा, यस्तो भयो सिड्नीमा एनआरएनले गरेको बनभोज


गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समितिले आयोजना गरेको अभिभावकहरुको वनभोज कार्यक्रम सफलतापूवृक सम्पन्न भएको छ । सिड्नीका विभिन्न ठाउँमा बसोबास गर्ने नेपाली अभिभावकहरुलाई हन्टर भ्यालीसम्मको यात्राको आयोजना शनिबार गरिएको थियो । यसमा सहभागी हुनका लागि करिब ८ सय ५० अभिभावकले आफ्नो नाम दर्ता गराएका थिए ।
विभिन्न पारिवारिक सिलसिलामा अष्ट्रेलिया आउनुभएका अभिभावकहरुबीच परिचयात्मक कार्यक्रम गर्ने र उनीहरुलाई अष्ट्रेलियाको विभिन्न ठाउँका बारेमा जानकारी दिने उद्देश्य राखिएको बनभोजमा सहभागी अभिभावकहरुले यस्ता कार्यक्रमको संख्या बढाउनुपर्ने सुझाव दिएका छन् । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक नन्द गुरुंगले अभिभावकहरुको सुझावलाई मनन गर्दै नियमित रुपमा यस किसिमको बनभोज आयोजना गरिएको र अब यो संख्यालाई बढाउने पनि बताए । उनले भने, “हामीले क्यानबेरा र सिड्नीका अभिभावकहरुलाई संयूक्त बनभोज आयोजना गर्ने बारेमा पनि सोचिरहेका छौं ।”
शनिबार विहानबाटै विभिन्न क्षेत्रका अभिभावकहरु बसमार्फत हन्टरभ्याली प्रस्थान गरेका थिए । बसमै पनि रमाइलो वातावरण देखिन्थ्यो ।  विभिन्न गीत, संगीत र भजनका साथमा उनीहरुको यात्रा अघि बढेको थियो । हन्टरभ्यालीमा पुगेपछि विहानको नास्ता, खाना र खाजा उनीहरुलाई उपलब्ध गराइएको थियो भने नेपाली चिकित्सकहरुको संस्थाले निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था पनि गरेको थियो । 
औपचारिक कार्यक्रममा सहभागी हुन एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, सचिव नारायण कोइरालासहित मेलबर्न र ब्रिसबेनबाट सिड्नी पुगेका थिए । उक्त अवसरमा बोल्दै अध्यक्ष घोतानेले यो कार्यक्रम अभिभावकहरुको लागि एनआरएनको सम्मान भएको बताए । उनले अष्ट्रेलियाभरि यस किसिमको कार्यक्रम आयोजना गर्ने तयारी आफुहरुको रहेको पनि सुनाए । शनिबार नै क्यानबेरामा अभिभावकको लागि बनभोज गरिएको थियो भने केही साताअघि मेलबर्नमा यस्तै बनभोज सम्पन्न भइसकेको छ ।
अभिभावकहरुको तर्फबाट बोल्दै शम्भु पोखरेलले एनआरएनलाई आशिक लाग्ने बताएका थिए । उनको भनाई थियो, “हामीलाई अष्ट्रेलियाका विभिन्न ठाउँमा जाने यो अवसर निकै महत्वपूर्ण हो । त्योभन्दा पनि बढी धेरै लामो समयस्म्म नेपालमै पनि भेट नभएका साथीभाईहरु यहाँ भेट्न पाइयो । खुशी लागेको छ । यसलाई निरन्तरता दिनुपर्छ ।” अभिभावकहरुलाई सिड्नीका विभिन्न सबअर्बबाट हन्टरभ्यालीसम्म आइपुग्नका लािग यातायात लगायतको संयोजनको जिम्मेवारी सीताराम घिमिरे, शंकर श्रेष्ठ, पारस थापा, शशीचन्द्र राई, अर्जुन केसी, प्रेम निरौला, लक्ष्मण सापकोटा, हिरा कँडेल, समिर श्रेष्ठ र सरोज पाण्डेले लिएका थिए । सबअर्ब कोअर्डिनेटरको तर्फबाट बोल्दै शशी राईले जुन उत्साह अष्ट्रेलियामा आएका अभिभावकहरुमा देखिएको छ त्यो निकै खुशीको कुरा भएको बताए । साथै उनले सन्तानहरुले पनि यस किसिमको कार्यक्रमको कारण एनआरएनको प्रशंसा गरेको सुनाए ।
कार्यक्रममा भीमसेन सापकोटाले योगाको बारेमा जानकारी दिनुभएको थियो । सहभागीहरु गीत संगीतको तालमा निकै रमाइलो गरिरहेको दृश्य देख्न सकिन्थ्यो ।
यति धेरै संख्यामा अष्ट्रेलियामा नेपाली अभिभावकहरुको जमघट भएको यो दोश्रो अवसर हो । यसअघि पनि एनआरएन अष्ट्रेलियाले नै बनभोजको आयोजना गरेको थियो । सम्भवत विश्वमै यति धेरै नेपाली अभिभावकहरु एकै ठाउँमा जमघट हुने कार्यक्रम यो नै पहिलो हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?