मेलबर्नमासप्ताहका लागि आइपुगे पण्डित दिनबन्धु पोखरेल, सामूदायिक केन्द्र बनाउने


अष्ट्रेलियाको मेलबर्नमा आगामी १८ डिसेम्बरदेखि सुरु हुने श्रीमद् भागवत सप्ताहमा प्रमुख वाचकको रुपमा सहभागी हुन नेपालका चर्चित पण्डित दिनबन्धु पोखरेल आइपुगेका छन् । उनलाई आज विहान विमानस्थलमा नेप्लीज अष्ट्रेलियन मल्टिकल्चरल सेन्टरका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । पण्डित पोखरेलले १८ तारिख सोमबारदेखि एक सातासम्म स्थानीय चिन्तपूर्णि मन्दिरमा श्रीमद् भागवत गीता वाचन गर्ने कार्यक्रम छ । साथै, यो सप्ताहको माध्यमबाट आर्थिक संकलन गरेर अष्ट्रेलियामा नै पहिलो पटक नेपाली मन्दिर र गुम्बासहितको सामूदायिक केन्द्र निर्माण गर्ने तयारी भएको छ । यसअघि आर्थिक संकलन गरिएको भएपनि त्यो रकम जग्गा किन्नका लागि अपुग भएपनि धार्मिक अनुष्ठान गरी यो शुभ कार्यमा हातेमालो गर्न लागिएको सप्ताह कार्यक्रमका महासचिव केशव कँडेलले जानकारी दिए । विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै पण्डित दिनबन्धु पोखरेलले देश विदेशमा नेपाली संस्कृति, परम्परा र भाषाको सम्बद्र्धन र प्रबद्र्धन गर्ने कार्यमा आफुलाई सहभागी गराउन पाउँदा निकै खुशी लागेको बताए । पण्डित पोखरेलले भने, “धेरै जीवको जूनी काटेपछि हामीले मानव चोला पाउछौं । आफ्नो मात्र नभई अरुको बारेमा समेत सोच्न सक्नु नै मानव जीवनको सार्थकता हो । दान दिनुमा जुन खुशी छ त्यो खुशी अन्य केहीबाट पनि मिल्न सक्दैन । यसै श्रीमद् भागवतका महान ज्ञानहरुमा डुबुल्की मार्नका लागि सबैलाई म अनुरोध गर्दछु । र, भिक्टोरियामा नेपाली सामूदायिक केन्द्र बनाउने यो सपना पूरा गर्नका लागि हामी हातेमालो गर्न सक्छौं ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?