एनआरएनले सिड्नी र क्यानबेरामा अभिभावकको लागि पिकनिकको आयोजना गर्दै


गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिले नेपालबाट सिड्नीमा आफ्ना सन्तान भेट्न आएका अभिभावकहरुको लागि पिकनिक आयोजना गर्ने भएको छ । विगतका वर्षमा उत्साहजनक सहभागिताबाट हौसिएको एनआरएन न्यूसाउथवेल्सले आगामी १६ डिसेम्बरमा अभिभावकहरुको लागि पिकनिक आयोजना गरिएको हो । सिड्नीका विभिन्न ११ ठाउँबाट अभिभावकहरुले हन्टर भ्याली जाने बस चढ्न सक्नेछन् । पिकनिकमा सहभागिी हुनका लागि २० डलर शुल्क तोकिएको छ भने विहान ६ः३० मा सुरु हुने कार्यक्रम साँझ ५ बजे सकिने बताइएको छ । एमएनटीभीसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक नन्द गुरुङले अभिभावकहरुको सम्मानका लागि पनि आफुहरुले यो कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले धेरैभन्दा धेरैको सहभागिता हुने अपेक्षा आफुले गरेको बताउनुभयो ।

क्यानबेरामा पनि बार्बिक्यू र पिकनिक
गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलिया एसीटी राज्य समितिको आयोजनामा बार्बिक्यू र पिकनिक आयोजना हुने भएको छ । क्यानबेरा, क्विनबियन र यस क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरु र नेपालबाट पारिवारिक तथा भ्रमणमा रहेका सबै नेपाली अभिभावकहरुको स्वागतका लागि कार्यक्रम आयोजना गरिएको एनआरएन एसीटीका संयोजक राजन ढुंगेलले जानकारी दिनुभयो । आगामी १६ डिसेम्बर २०१७ मा अष्ट्रेलियन क्यापिटल टेरीटरीको ब्ल्याक माउन्टेनमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम विहान कार्यक्रम ११:३० देखी साँझ ५ बजेसम्म हुने एनआरएन एसीटीका सचिव बावुराम पौडेलले एमएनटीभीलाई जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुने शुल्क नलाग्ने भएपनि डिसेम्बर ११ तारिखसम्ममा नाम भने टिपाईसक्नुपर्ने पनि बताइएको छ ।

यसैबीच, एनआरएन अष्ट्रेलियाको २०१७ १९ को कार्यकालको सुरुवातमै अभिभावकहरुलाई स्वागत र पिकनिक कार्यक्रम मेलबर्नमा आयोजना भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्इ समितिको आयोजनामा हालै सम्पन्न यो पिकनिक कार्यक्रममा २ सय भन्दा बढी अभिभावकहरु सहभागी भएका छन् । मेलबर्नको स्थानीय यिङ यान पार्कमा आयोजना गरिएको पिकनिकमा स्थानीय समूदायका सदस्यहरु पनि सहभागी भए । कार्यक्रममा सहभागी भएका अभिभावकहरुले एनआरएनलाई उनीहरुको आयोजनाको लागि धन्यवाद दिएका छन् । कार्यक्रमको भिडियो यहाँ हेर्न सक्नुहुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?