भक्तपुरमा ७७ प्रतिशत मतदान, ललितपुरमा ६५ प्रतिशत, चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान


प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुरमा ७६ दशमलव ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत भोजराज पोखरेलले जिल्लामा कूल एक लाख ७८ हजार ९९ हजार मतदाता रहेकामा ७६.६९ प्रतिशत मत खसेको जानकारी दिनुभयो । क्षेत्र नं १ को खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा र क्षेत्र नं २ को बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणना हुनेछ । मतपेटिका बुझ्ने काम सकिएपछि सर्वदलीय बैठक राखेर मतगणना बिहीबार वा शुक्रबारदेखि गर्ने भन्नेबारेमा निर्णय हुने निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो । 

ललितपुरमा झण्डै ६५ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रबाट आएको जानकारीका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६५ प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरेको हो । जिल्लाका सबै क्षेत्रबाट मतपेटिका भने मतगणना हुने स्थानसम्म आइपुग्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताउनुभयो । क्षेत्र नं १ का कतिपय मतदान केन्द्रबाट मध्यरातसम्म मात्रै मतपेटिका आइपुग्नेछ । क्षेत्र नं २ र ३ तथा क्षेत्र नं १ को नजिकैका मतदान केन्द्रबाट धमाधम मतपेटिका आइरहेको छ । उहाँले भन्नुभयो, “सबै मतदान केन्द्रबाट मतपेटिका गाडीमा लगिसकिएको छ ।” क्षेत्र नं १ का वाग्मती, कोञ्जेसोम र महांकाल गाउँपालिकाका कतिपय केन्द्रबाट जावलाखेल आइपुग्न गाडीमा पाँच/छ घण्टासम्म लाग्छ । प्रतिनिधिसभामा जिल्लाका तीन क्षेत्रमध्ये क्षेत्र नं १ र २ को जावलाखेलस्थित स्टाफ कलेज र क्षेत्र नं ३ को जावलाखेलकै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना हुनेछ । शान्तिपूर्ण सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको दवाडी बताउनुहुन्छ । क्षेत्र नं १ का सबै स्थानको मतपेटिका आइपुगेपछि मात्रै मतगणना शुरु हुनेछ । क्षेत्र नं २ र ३ को भने सर्वदलीय बैठक गरेर आज नै मतगणना शुरु गरिने बताइएको छ । जिल्लामा १३१ मतदानस्थलका २७७ केन्द्रमा मतदान भएको हो ।

 प्रतिनिधिसभा र प्रदेशसभाको आज सम्पन्न निर्वाचनमा जिल्लामा ७० प्रतिशत हाराहारी मत खसेको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले यकिन विवरण आइनसकेको भए पनि प्रारम्भिक विवरणअनुसार ७० प्रतिशत हाराहारी मत खसेको छ । अहिलेसम्मको विवरणअनुसार केही केन्द्रमा बढीमा ७५ प्रतिशतसम्म मत खसेको बताउँदै निर्वाचनका क्रममा कुनै अप्रिय घटना नभएको स्पष्ट गर्नुभयो । यसअघि भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको थियो । सोका कारण वडा नं १९ मा पुनः मतदान गर्नुपरेको थियो । सो घटनापछि मतगणनामा देशका विभिन्न ठाउँमा तारजाली लगाउने गरिँदै आएको छ । जनकपुरधाम– निर्वाचनमा धनुषा जिल्लामा ७० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार शान्तिपूर्ण ढंगले सम्पन्न निर्वाचनमा शहरी क्षेत्रमा कम र ग्रामीण क्षेत्रमा अधिक मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार मतगणना शुक्रबार बिहान ८ बजेदेखि शुरू हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?