अष्ट्रेलियन सरकारबाट जमुना पराजुलीलाई मल्टिकल्चरल एवार्ड फर एक्सीलेन्स प्रदान


अष्ट्रेलियाको भिक्टोरिया सरकारले दिदी बहिनी समाज भिक्टोरियाकी अध्यक्ष जमुना पराजुलीलाई मल्टिकल्चरल एवार्ड फर एक्सीलेक्स प्रदान गरेको छ । गत शनिबार मेलबर्नस्थित गभर्नरको निवासमा बिहीबार आयोजना गरिएको विशेष समारोहमा पराजुलीलाई उक्त एवार्ड हस्तान्तरण गरियो । शरणार्थीहरुको सांस्कृतिक सेवा, विकास र कार्यान्वयनमा खेलेको उत्कृष्ट योगदानका लागि एवार्ड दिने निर्णय भिक्टोरिया सरकारले गरेको थियो । जमुना पराजुली शरणार्थीका रुपमा भिक्टोरियामा आएका व्यक्तिहरुलाई यहाँको समाजमा घुलमिल गराउन सल्लाह दिने र अष्ट्रेलिया स्वास्थ्य सेवा लिन सक्षम बनाउने कार्यमा संलग्न छिन् । साथै, उनले शरणार्थीहरुलाई स्वास्थ्य सेवा लिँदा आइपर्ने समस्याहरु समाधानका लागि सरकारलाई सुझाव पनि दिने गर्दछिन् । एवार्ड पाइसकेपछि एमएनटीभीसँग कुरा गर्दै पराजुलीले यो एवार्ड आफ्नो मात्र नभएर नेपाली समूदायकै लागि खुशीको कुरा भएको बताइन् । आफुले सेवा दिएका व्यक्तिहरुले लामो समयसम्म पनि याद गर्दा उनलाई निकै खुशी लाग्छ । एउटा घटना सुनाईन्, “करिब आठ वर्षअघि भेटेको एउटा सुडानको परिवार थियो । आठ वर्षपछि उनीहरु मलाई खोज्दै, सम्झिएर बेन्डिगोबाट आएका थिए । निकै खुशी लाग्यो । उनीहरुको समस्यामा अहिले पनि सहयोग गर्न सकें । यो घटना मेरो लागि अविस्मरणीय बनेको छ । यति लामो समयपछि मलाई नै खोज्दै त्यति टाढादेखि आउँदा मैले सक्ने सुझाव नदिने त कुरै थिएन ।” यसैबीच, नेपाली समूदायका अगुवा पर्शुराम लुईटेललाई पनि सोही अवसरमा मल्टिकल्चरल च्याम्पियन एवार्डमा मनोनित भएकोमा प्रमाणपत्र दिइएको थियो । लुईटेलसहित अन्य दुईजना पनि मनोनयनमा परेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?