वाम गठबन्धनले अधिनायकवाद होइन समृद्धि ल्याउँछ : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले अधिनायकवाद नल्याई मुलुकमा समृद्धि ल्याउन दाबी गर्नुभएको छ । पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले एमाले र नेकपा माओवादी केन्द्र पार्टीहरुको चुनावी तालमेल र एकताको निर्णयले अधिनायकवाद स्थापना हुन्छ भन्ने नेपाली काँग्रेस लोकतान्त्रिक हुन नसक्ने आरोप लगाउनुभयो । “एमाले र माओवादी मिल्दा काँग्रेस आत्तिनु पर्ने छैन । एउटै विचार मिल्ने पार्टीले तालमेल गर्नु स्वभाविक नै हो”, उहाँले भन्नुभयो, “तर अहिले काँग्रेस आत्तिएर विभिन्न भ्रम फैलाउन खोजेको छ । दुई पार्टी मिलेर अधिनायकवाद नभई मुलुक समृद्धि ल्याउँछन् ।” अध्यक्ष ओलीले एमाले र माओवादीको गठबन्धनलाई लोकतान्त्रिक र प्रगतिशील गठबन्धन र काँग्रेससहितको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिनुभएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले एमाले र माओवादीको गठबन्धन लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र स्थायित्व स्थापना गर्ने गठबन्धन बनेको धारणा राख्नुभयो । उहाँले निर्वाचनपछि मुलुक आत्मनिर्भर भन्ने बाटोमा जान थालेको बताउनुभयो । उहाँले अधिकार, अवसर, सुरक्षा, सम्मान सबैलाई बराबर दिएर समानतामूलक समाज बनाउने योजनाका साथ वाम गठबन्धन बनेको जिकिर गर्नुभयो । कार्यक्रममा काभ्रेका केही व्यवसायी एमालेमा प्रवेश गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?