रोयल गुर्खाज कलेजलाई खुशीको खबर, थप विषयहरुमा पढाउने तयारी 


अष्ट्रेलियाको मेलबर्नमा सञ्चालित रोयल गुर्खाज ईन्ष्टिच्युट अफ टेक्नोलोजी (आरजीआईटी)का विरुद्ध अष्ट्रेलियन स्कील्स क्वालिटी अथोरिटी (एसक्वा) ले विद्यार्थी सुविधाका सम्बन्धमा प्रश्न उठाउँदै दर्ता खारेजको प्रक्रिया अघि बढाउने निर्णय रद्द भएको छ । गत मे महिनामा आसक्वाले यस आशयको पत्र पठाएपछि कलेजले तत्कालै यसका विरुद्ध स्टे अर्डरका लागि एडिमिनिस्ट्रेटिभ अपिल्स ट्रीव्यूनलमा निवेदन दिएको थियो । निवेदनपछि ट्रीव्यूनलले आरजीआईटीको दर्ता खारेजी गर्ने निर्णय तत्कालै कार्यान्वयन नगर्न र नगराउन स्टे अर्डर दियो । यसपछि भएको अनुसन्धानले अष्ट्रेलियन स्कील्स क्वालिटी अथोरिटी कलेज बन्द गर्नुपर्ने त्यस्तो कुनै कारण नभएको भन्दै यो प्रक्रियालाई नै खारेज गर्ने निचोडमा पुगेको छ । यो सफाईपछि अब कलेजलाई यथावत रुपमा चलिरहेको आफ्नो अपरेसनमा बाधा नहुने भएको छ । यस प्रक्रियामा आरजीआईटीको तर्फबाट मुद्दा हेरेका वकिल निक गलाटासले रोयल गुर्खाज कलेज परिवारलाई बधाई दिएका छन् । उनले भनेका छन्, “ट्रीव्यूनलले स्टे अर्डर दिएपछि आसक्वा र आरजीआईटी मिलेर कमजोरी रहेका क्षेत्रहरुको पुनरावलोकन गरेका थिए । यसपछि ट्रीव्यूनलले आसक्वाको यसअघिको निर्णय कार्यान्वयन नगर्ने गरी आदेश दिएको हो ।”
यो निर्णयपछि प्रतिक्रिया दिँदै कलेजका प्रमुख कार्यकारी अधिकृत चन्द्र योञ्जनले रोयल गुर्खाज कलेजको टिमलाई बधाई दिनुभएको छ । योञ्जनले भन्नुभयो, “यो सफलताले हामी हिजो पनि सही थियौं भन्ने कुरालाई पुनर्पुष्टि गरेको हो । केही तनाव त भयो होला तर आखिरमा सत्यले नै जित्छ भन्ने कुरा पनि प्रमाणित भयो । यो अप्ठेरो परिस्थितिमा हामीलाई साथ दिने मुख्यतः कलेज परिवार, कानूनी टिमका साथै समूदायका सबै शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहन्छु । कलेज नै बन्द भयो भनेर हिजो दुस्प्रचार गर्नेहरुले कुरै नबुझी बदनाम गराउने नियत राखेको यो निर्णयपछि पुष्टि भएको छ ।”
सञ्चालक योञ्जनले यस किसिमको प्रशासनिक अनुगमन नियमित प्रक्रिया भएको बताउँदै यस वर्ष अहिले नोभेम्बरसम्म मात्रै २ सय ४० भन्दा बढी कलेजहरुमा अनुगमन भएको जानकारी दिनुभयो । योञ्जनको भनाई छ, “यिनै २ सय ४० मध्ये आरजीआईटी पनि एक हो । यो अष्ट्रेलियाको एजुकेशन सिष्टममा सामान्य प्रक्रिया हो । अष्ट्रेलियाको एजुकेशन सिष्टमले अन्तर्राष्ट्रिय क्षेत्रमा नै प्रभाव पार्ने हुनाले अष्ट्रेलियन सरकारले कडाईका साथ अनुगमन गर्दछ ।” यसैबीच, रोयल गुर्खाज कलेजले नयाँ विषयमा पनि पढाई सुरु गर्ने भएको छ । यसको घोषणा छिट्टै गर्ने तयारी भएको कलेजको व्यवस्थापन पक्षले जानकारी दियो ।
 रोयल गुर्खाज कलेजमा २ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । त्यसमध्ये नेपालीहरुको संख्या पनि उल्लेख्य छ । नेपालीहरुलाई रोजगारी उपलब्ध गराउने क्षेत्रमा आरजीआईटी अग्रणी रहँदै आएको छ । कलेजमा अध्ययनरत करिब १५ सय विद्यार्थीमध्ये अधिकांश दक्षिण अमेरिकी देशहरु, युरोप, मलेसिया, जापान, चीन, कोरिया लगायत ५० भन्दा बढी देशका विद्यार्थी रहेका छन् । यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या न्यून मात्र छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?