अष्ट्रेलिया आइपुग्यो बुद्ध लामा, निशान भट्टराई र प्रताप दाससहितको नेपाल आईडल टोली


चर्चित टेलिभिजन कार्यक्रम नेपाल आईडलको विजेता बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र कार्यक्रम सञ्चालक सुशील नेपाल सहितको टोली अष्ट्रेलिया आइपुगेको छ । करिब एक महिना लामो कन्सर्टहरुमा टोलीले भाग लिनेछ । अष्ट्रेलियन भूमिमा आइपुग्ने बित्तिकै प्रतिक्रिया दिँदै पहिलो नेपाल आईडल बुद्ध लामाले बेलायतमा पाएको साथ, समर्थनका लागि धन्यवाद दिँदै अष्ट्रेलियामा पनि त्यस्तै माया पाउने अपेक्षा आफुहरुले गरेको बताए । अष्ट्रेलियाको राजधानी क्यानबेरामा मंगलबार उत्रिएको टोलीमा अर्की चर्चित नेपाल आईडलकी स्टार प्रमिला राई पनि अष्ट्रेलिया आउने भएकी छिन् । उनीहरुको साथमा नेपाल आईडलका होष्ट सुशील नेपाल पनि छन् । क्यानबेरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरु आइपुग्दा आयोजक नेपाली टचका पदाधिकारी, स्थानीय कार्यक्रम आयोजक गौली ईन्टरटेन्मेन्टका पदाधिकारी, क्यानबेराको नेपाली समूदायका अगुवा डा. कृष्ण हमाल र मुख्य प्रायोजक एभरेष्ट कम्युनिकेशनका युवराज भट्टराई लगायतले स्वागत गरेका थिए । यो शुक्रबार क्यानबेरामा नेपाल आईडलको पहिलो कन्सर्ट हुनेछ । यसलगत्तै २७ नोभेम्बर सोमबारको दिन ब्रिसबेनमा कन्सर्ट आयोजना हुनेछ । ब्रिसबेनको कन्सर्टको आयोजना एमटी ८८४८ ईभेन्ट ब्रिसबेनले गरेको हो । ब्रिसबेनको दि ट्रिफिडमा साँझ ६ बजेदेखि कन्सर्ट हुनेछ । नेपाल आईडल लाईभ ब्रिसबेनको मुख्य प्रायोजक मेट्स ईन्टरनेशनल कन्सल्टेन्सी र क्वीन्सफोर्ड कलेज रहेका छन् । यसपछि भने डिसेम्बर १ तारिख सिड्नीमा करिब पाँच हजार दर्शकलाई नेपाली संगीतको विभिन्न आयाम प्रस्तुत गर्दै कन्सर्ट आयोजना हुनेछ। सिड्नीको कन्सर्टको मुख्य प्रायोजन एभरेष्ट कम्युनिकेशनले गरेको छ । यसपछि  डिसेम्बर ३ तारिख मेलबर्नमा नेपाल आईडल कन्सर्ट हुनेछ ।मेलबर्नको कन्सर्टलाई कँडेल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ । डिसेम्बर ९ तारिखका दिन होवार्टमा कन्सर्ट गर्ने तयारी भएको छ भने डिसेम्बर १६ तारिख पर्थमा बुद्ध लामा, निशान भट्टराई र प्रताप दासले आफ्नो सांगीतिक जादू देखाउनेछन् । करिब एक महिना लामो अष्ट्रेलिया टूरको समापन २२ डिसेम्बरका दिन डार्विनमा पुग्नेछ भने २३ डिसेम्बर शनिबार एडिलेडमा कन्सर्ट गरेपछि यो टूरको समापन हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?