एनआरएन अष्ट्रेलियाको नयाँ ६ पदाधिकारी मनोनित, कोषाध्यक्षसहित ८ जनाको नोट अफ डिसेन्ट


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आईतबार सम्पन्न बैठकले ६ जना पदाधिकारीको नियुक्त गरेको छ । विधान अनुसार कार्यसमितिले मनोनित गर्ने प्रवक्ता, पब्लिक अफिसरसहित ४ सदस्य थप गरिएको हो । यसरी नियुक्त गरिएका पदाधिकारीमा भीम खरेल पब्लिक अफिसर, डिला खरेल प्रवक्ता छन् । त्यसैगरी मनोनियत नयाँ कार्यसमिति सदस्यहरुमा अच्युत अधिकारी, उद्धव भट्ट, पर्शुराम अधिकारी, मुरारी लम्साल रहेका छन् । एनआरएन अष्ट्रेलियाका महासचिव नारायण कोइरालाका अनुसार कार्यसमितिको तेश्रो बैठकबाट गरिएको मनोनयनमा कोषाध्यक्ष सहित केही सदस्यले असहमति जनाएका छन् । उनले भने, एक जना पदाधिकारीसहित केही सदस्यहरुले यो मनोनयनमा सबै राज्यलाई समेटिएन भन्ने खालको कुरा राख्नुभएको थियो । हामीले टास्क फोर्स या अन्य जिम्मेवारीमा समेट्दै जाने बताएका थियौं । तर, उहाँहरुले मान्नुभएन र आफ्नो लिखित असहमति दर्ज गराउनुभएको छ । बैठकमा एनआरएनका उपाध्यक्ष एव्ं क्यापिटल टेरेटोरीका संयोजक राजन ढुंगेलले निर्वाचनमा पराजितलाई मनोनयन गर्दा यसले राम्रो सन्देश नजाने र यो विधान विपरित समेत हुने भएका कारण यस्तो मनोनयन रोक्न माग गरेका थिए । प्रवक्तामा तोकिएका डिला खरेल सचिव पदमा उम्मेद्वारी दिएर फिर्ता लिने समय कटिसकेपछि चुनावमा नजाने निर्णय गरेका उम्मेद्वार हुन् । यस सम्बन्धमा प्रतिक्रिया दिँदै एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले बैठकमा विवाद आएको कुरा स्वीकार गरे । उनले भने, “प्रजातान्त्रिक प्रक्रिया मानिसकेपछि हामीले विवादमा बहुमतका आधारले निर्णय गरेका छौं । कोषाध्यक्ष अच्युत शर्मासहित केही साथीहरुले असहमति जनाउनुभएको हो । कार्यसमितिको ७५ प्रतिशत बहुमतले निर्णय भएको छ । यसमा अन्यथा मान्नु पर्दैन ।” पराजित उम्मेद्वारलाई मनोनित गरेको सवालमा आफुले आईसीसीमा बुझिरहेको प्रतिक्रिया घोतानेले दिएका छन् । उनी भन्छन्, “विधान विपरित जाने कुरै हुँदैन । हामीले आईसीसीमा यस बारेमा बुझेका छौं । आईसीसीले पराजित उम्मेद्वारलाई फेरि मनोनित गर्ने प्रावधान ल्याएको भएपनि यो नेपाल सरकारबाट स्वीकृत भएर लागू भइनसकेको हाम्रो ठम्याई हो । यदि आईसीसीले यो लागू भइसकेको जानकारी दिन्छ भने स्वतः हामी विधान मान्न बाध्य हुन्छौं ।” महासचिव कोइराला भन्छन्, “मनोनित पदाधिकारीले हिजैबाट आफ्नो कार्य सम्हालीसक्नुभएको छ ।”
एनआरएन अष्ट्रेलियाको बैठकमा पदाधिकारी मनोनित गर्ने सम्बन्धमा नोट अफ डिसेन्ट लेखेका कोषाध्यक्ष अच्युत शर्मा आफुहरुमाथि धोका भएको बताउँछन् । उनी भन्छन्, “अष्ट्रेलियाभरिबाट आठ स्टेट र टेरेटोरीमध्ये ७ वटामा दोश्रो भएको व्यक्ति र मात्र ५ भोटले अध्यक्ष भएको व्यक्तिले यस किसिमको अप्रजतान्त्रिक र हेपाहा तरिकाले काम गर्नु निन्दनीय छ ।” उनले आक्रोशित हुँदै भने, “मनोनयनमा ६ जनामध्ये ५ जना त न्यूसाउथवेल्सकै मात्र हुनुहुन्छ । महिलाको प्रतिनिधित्व किन भएन ? यो कसरी समावेशी भयो ? र, नियुक्तिका सम्बन्धमा हामीले दिएको सल्लाह सुझावलाई बेवास्ता गरी मनलाग्दी गरिएको छ । यसैका विरुद्ध मसहित ८ जनाले नोट अफ डिसेन्ट लेखेका हौं । सामूदायिक र गैरनाफामूलक संस्थाको अध्यक्षको कार्यशैली ठीक भएन । निर्वाचनमा पराजित व्यक्तिलाई समेत नियुक्त गरेको विषय हामी आईसीसी तहसम्म लैजान्छौं ।”
अरु के भयो बैठकमा ?
बैठकले एनआरएन अष्ट्रेलियालाई आर्थिक रुपमा सबल बनाउनका लागि अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि बनाइएको छ । सदस्यता शुल्क वापत उठेको २ लाख डलरभन्दा बढी रकममध्ये आईसीसीलाई सदस्यताशुल्क वापत बुझाउनुपर्ने र एनआरएन बिल्डिङ लेबीसमेत बुझाएका कारण अहिले आर्थिक अभाव देखिएको र यसलाई सबल बनाउन अर्थ संकलन कार्यक्रम गर्नका लागि पाँच सदस्यीय समिति बनाइएको महासचिव कोइरालाले जानकारी दिए । यस्तै बैठकले भिक्टोरियामा आफ्नै सामूदायिक केन्द्र निर्माण गर्नका लागि आगामी डिसेम्बर १८ तारिखदेखि हुन लागेको कार्यक्रमलाई पूर्ण रुपमा सहयोग गर्ने पनि निर्णय गरेको छ । बैठकमा आगामी फेब्रुअरी महिनासम्ममा एनआरएन अष्ट्रेलियालाई यहाँको संघीय तहमा दर्ता गरिसक्ने प्रयोजनका लागि भएको विकासक्रमको अपडेट अध्यक्ष घोतानेले गराएका थिए । यस्तै एनआरएन कार्ड आईसीसीबाट नै बनेर आउने र यसलाई सहज रुपमा वितरण गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ । यस्तै महावीर पुनको नेतृत्वमा नेपालमा बन्न लागेको आविष्कार केन्द्रका लागि संकलित २८ हजार ३ सय डलर तत्कालै निकासा गर्ने निर्णय पनि बैठकले गरेको छ । एनआरएनको पहलमा अष्ट्रेलियाव्यापी अर्थ संकलन गरी महावीर पुनको आविष्कार केन्द्रका लागि यसअघि पनि २० हजार डलरभन्दा बढी रकम पुनलाई उपलब्ध गराइसकिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?