नोभेम्बर २६ मा अष्ट्रेलियाको ब्रिसबेन गजलमय बन्दै, गजल मुशायरा हुँदै


आगामी नोभेम्बर २६ मा अष्ट्रेलियाको ब्रिसबेनमा गजल मुशायराको ब्रिसबेन संस्करण हुने भएको छ । केही वर्ष अघिदेखि प्रत्यक्ष वर्ष मोती जयन्तीको अवसरमा सिड्नीमा आयोजना गरिदै आएको गजल मुशायराले आफ्ना चारवटा श्रृंखलाहरू भव्यताका साथ सम्पन्न गरेको छ र पहिलोपटक सिड्नी बाहिर पाइला राख्न लागेको हो ।
गजल मुशायरा परिवारद्वारा आयोजित यस कार्यक्रम आगामी नोभेम्बर २६, आइतबारका दिन दिउँसो ब्रिसबेनको नर्थगेट स्थित ब्रिसबेन सिटी काउन्सिलको हलमा आयोजना गरिनेछ । कार्यक्रम नेपलिज असोसिएसन अफ क्विन्सल्याण्ड र अन्तराष्ट्रिय नेपाली साहित्य समाज, क्विन्सल्याण्ड च्याप्टरको सहयोगमा हुन लागेको हो ।
कार्यक्रम मा ११ जना गजलकारहरुको गजल वाचन, गजल गायन तथा गजलमा नृत्य पनि प्रस्तुत गरिने छ। गजल वाचनमा यस पटक ब्रिसबेनका स्थानीय गजलकारहरुलाई मकाई, सिड्नी, एडिलेड लगायतका शहरका गजलकारहरुले साथ दिने कार्यक्रमका संयोजक केशव शर्माले जानकारी दिएका छन् ।
“गजल मुशायरा”का भिडियोहरू सामाजिक सञ्जालमा अति नै रुचाइएका छन् र गजलप्रेमीहरूमाझ यस कार्यक्रमले पाएको लोकप्रियता उत्साहजनक छ । गजल मुशायरा सिड्नीका संयोजक जितेन्द्र मल्ल ब्रिसबेनमा पनि गजल मुशायराले आफ्नो अमिट छाप छोड्नेमा ढुक्क देखिन्छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?