६१ प्रतिशत अष्ट्रेलियनले भने YES ‘समलिङ्गी विवाहलाई मान्यता दिउँ’


पोष्टल भोटको माध्यमबाट गरिएको सर्वेक्षणमा ६१ प्रतिशत अष्ट्रेलियनले समलिङ्गी विवाहलाई मान्यता दिने फैसला दिएका छन् । यस नतिजासँगै प्रधानमन्त्री मल्कम ट्रनबुलले छिट्टै संसदमार्फत जनताको यो मतलाई कानूनी रुप दिने बताएका छन् । सर्वेक्षणमा ८० प्रतिशतभन्दा बढी अष्ट्रेलियनहरु सहभागी भएर आफ्नो मत दिएका थिए । जसमध्ये समलिङ्गी विवाहले यहाँको मूल्य र मान्यतालाई सहयोग नगर्ने भन्नेमा ३८ दशमलब ४ प्रतिशत मत परेको थियो । जसको संख्या ४८ लाख ७३ हजार ९ सय ८७ थियो भने ७८ लाख १७ हजार २ सय ४७ जनाले समलिङ्गी विवाहलाई मान्यता दिने निर्णय सुनाएका थिए । आएको मतमध्ये समलिङ्गी विवाहलाई मान्यता दिनुपर्छ भन्नेमा अष्ट्रेलियाको राजधानी क्यानबेरा सबैभन्दा अघि थियो । यहाँ भोट दिनेमध्ये ७४ प्रतिशतले सहमति जनाएका थिए । यसपछि न्यूसाउथवेल्स बाहेक अन्यत्र सबै राज्यमा ६० प्रतिशतको हाराहारीमा मत आएको थियो । नतिजापछि प्रतिक्रिया दिँदै अष्ट्रेलियन प्रधानमन्त्री ट्रनबुलले भनेका छन्, यो जनताको अभिमत हो र हामीले यसको सम्मान गर्नपर्छ । जनता महान छन् । उनीहरु मालिक हुन् हामी उनीहरुको सहयोगी मात्र हौं । हामी छिट्टै यो विषयमा कानून बनाएर लागू गर्नेछौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?