सिड्नीमा नेपालीको रेष्टुरेन्टलाई एक्सीलेन्स एवार्ड, निजी सुसी बार आउटस्ट्यान्डिङ विजनेस अफ द ईयर घोषित


सिड्नीमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टलाई त्यहाँको स्थानीय काउन्सिलले बिजनेस एक्सीलेन्स एवार्ड प्रदान गरेको छ । सिड्नीको किङ्सफोर्डमा रहेको निजी सुसी बारलाई सन् २०१७ को लागि आउटस्ट्यान्डिङ रेष्टुरेन्ट अफ द ईयर एवार्ड प्रदान गरिएको हो । हरेक दुई वर्षमा प्रदान गरिने यो एवार्डसँगै उक्त व्यवसायले रेन्डविक सिटी काउन्सिलमा सञ्चालितमध्ये आउटस्ट्यान्डिङ विजनेस अफ द ईयर २०१७ उपाधि पनि पाएको छ । यसअघि सन् २०१३ र सन् २०१५ मा पनि निजी सुसी बारले आउटस्ट्यान्डिङ रेष्टुरेन्ट अफ द ईयर उपाधि जितेको थियो । यस क्षेत्रमा सञ्चालित विभिन्न २७ व्यवसायहरुलाई पछि पार्दै नेपालीले सञ्चालन गरेको जपानी रेष्टुेन्ट निजी सुसी बार उपाधि जित्न सफल भएको हो । गत बुधबार रेन्डविक रेसकोर्षमा आयोजना गरिएको एक विशेष कार्यक्रममा रेन्डविक सिटी काउन्सिलकी मेयर लिन्डसे सौरीले एवार्ड हन्तान्तरण गरिन् । विगत आठ वर्षदेखि चलिरहेको यो रेष्टुरेन्टका सञ्चालक राज खनालले एमएनटीभीसँग प्रतिक्रिया दिँदै भने, “मलाई एकदमै खुशी लाग्यो । हाम्रो विजनेसलाई अष्ट्रेलियाको सरकारी निकायको तर्फबाट नै सर्वोत्कृष्ट भएको मूल्यांकन गर्नु पक्कै पनि खुशीको कुरा हो । एउटा नेपाली हुनुको नाताले मलाई गर्व पनि लागेको छ । साथै, जिम्मेवारी पनि बढेको महसूस गरेको छु ।”
सुसी प्रसिद्ध जपानी खाना हो । अष्ट्रेलियामा आउँदा आफुले जपानी रेष्टुरेन्टमै काम गरेको र त्यसपछि कुकको रुपमा त्यही रेष्टुरेन्टमा नै अघि बढ्दाको अनुभवका आधारमा रेष्टुरेन्ट खोल्नुपर्छ भन्ने सोच आउँदा जपानी परिकारकै रेष्टुरेन्ट सञ्चालनमा ल्याएको खनालले बताए । उनको पाँच वर्षको जपानी रेष्टुरेन्टमा काम गरेको अनुभवका आधारमा खोलिएको यो दोश्रो जपानी रेष्टुरेन्ट हो । रेन्डविक क्षेत्रमा नै बसोबास गरिरहेका खनालले आफ्नै नजिकै रेष्टुरेन्ट खोल्ने सोच बनाएर आठ वर्षअघि निजी सुसी बार सञ्चालमा ल्याएका थिए । उनी भन्छन्, जपानी खाना यो क्षेत्रमा पनि प्रसिद्ध नै थियो । यसैकारण मैले त्यतिबेला किङ्सफोर्ड नै छानेको थिएँ । नेपालको रुपन्देही जिल्लामा घर भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका खनाल रुपन्देही सामाजिक सञ्चालन अष्ट्रेलियाका अध्यक्ष समेत हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?