चितवनमा प्रचण्डसहित वाम गठबन्धनको उम्मेद्वारी दर्ता, आठ स्वतन्त्रको घेरा


नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक तरिकाबाट समाजवादको निर्माण गर्ने महाअभियानको मोडमा आफूहरु रहेको बताउनुभएको छ । वाम गठबन्धनका तर्फबाट आज यहाँ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट एकता गर्दै समाजवाद निर्माणबाट मुलुकलाई आर्थिक विकासको ढाँचातिर लैजानका लागि चितवनवासीको सहारा लिनुपरेको बताउनुभयो । देशलाई दलाल र ठेकेदारको जिम्मा दिन नसकिने भन्दै उहाँले विचार, आदर्श र मूल्यद्वारा देशको नेतृत्व चयन हुनुपर्ने बताउनुभयो । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएका पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “चितवनका सचेत जनताले यो ‘मिसन’लाई राम्रोसँग आत्मसात् गर्दै प्रतिक्रियावादी र ठेक्काबाट देश चलाउन खोज्नेहरुलाई जवाफ दिनुपर्छ ।”
उहाँले अब देश समृद्धितर्फ उन्मुख गराउन नयाँ आर्थिक योजनाको खाका वाम गठबन्धनले मात्रै तय गर्न सक्ने बताउँदै विगतमा पाँच वर्षसम्म कुनै सरकार नचलेको परिवेशमा बनेको वाम गठबन्धनको दिगो सरकारमार्फत देश र जनताको आर्थिक समृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । नेता दाहालले भन्नुभयो, “आर्थिक विकासले गति लिन्छ र नेपाली जनताका अहिलेका समस्याको समाधान वाम गठबन्धनको सरकारले गर्छ ।” आउँदो एक दशकभित्र देश संसारकै तीव्र गतिको विकास भएका देशका दाँजोमा पुग्ने पनि उहाँले जिकिर गर्नुभयो । सोही कार्यक्रममा एमाले नेता एवं वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नं १ का उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डेले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने जिकिर गर्दै त्यसले देशलाई समृद्धितर्फ लैजाने बताउनुभयो ।
दाहालको क्षेत्रमा आठ स्वतन्त्र
माओवादी केन्द्रका अध्यक्ष दाहालले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा ९प्रजातान्त्रिक० का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिष्पर्धामा हुनुहुन्छ । पाण्डे वर्तमान सरकारका वन तथा भूसंरक्षण मन्त्रीसमेत रहनुभएको छ । उहाँ दाहाल नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्थामन्त्री हुनुहुन्थ्यो । त्यस्तै तत्कालीन माओवादी कार्यकर्ता टंकनाथ रेग्मी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार हुनुहुन्छ । यसैगरी संघीय समाजवादी फोरम नेपालबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमादेवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० बाट कृष्णबहादुर तामाङ, नेकपा मालेबाट डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीबाट दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीबाट शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले सो क्षेत्रमा मनोनयन दर्ता गर्नुभएको छ । सोही क्षेत्रमा स्वतन्त्र टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाईं, भरत बोहरा, विजयराज घिमिरे, सुनिलकुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ । सोही क्षेत्रको प्रदेशसभातर्फ क र ख०मा आठ आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ १५ जनाले उम्मेदवारी दिएका छन् । सोमध्ये १२ जना विभिन्न राजनीतिक दलका छन् भने तीन जना स्वतन्त्र उम्मेदवार हुन् । सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट शिक्षा राज्यमन्त्रीसमेत रहनुभएका काँग्रेसका शेषनाथ अधिकारी र वाम गठबन्धनबाट एमालेका कृष्णभक्त पोखरेलले उम्मेदवारी दिनुभएको छ । सोही क्षेत्रको प्रदेश कमा नौ दलका उम्मेदवार तथा खमा १० दल र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नं १ मा स्वतन्त्र चार र ११ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सो क्षेत्रबाट वाम गठबन्धनबाट पूर्वअर्थमन्त्री एवं एमाले नेता पाण्डे र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोही क्षेत्रको क र खमा दश दश दलका उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?