निर्वाचन सफल बनाउन सेनाको भूमिका महत्वपूर्ण, एकदिने छलफल सम्पन्न


रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनाले विगतमा जस्तै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सफल बनाउन क्रियाशील भएर लाग्ने बताउनुभएको छ । सैनिक मुख्यालयमा आज आयोजित ‘निर्वाचन सुरक्षासम्बन्धी एकदिने छलफल कार्यक्रम’मा उहाँले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन सेनाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । मन्त्री प्रधानले विगतको अनुभव र आफ्नो पेशागत दक्षताका आधारमा निर्वाचन सुरक्षाको जिम्मेवारी निर्वाह गर्न नेपाली सेना सफल रहने कुरामा पूर्णरुपमा विश्वस्त रहेको उल्लेख गर्नुभयो । स्थानीय तहको गत निर्वाचनका विभिन्न चरणमा सुरक्षासम्बन्धी जिम्मेवारी अत्यन्त प्रभावकारीरुपमा निर्वाह गर्दै उक्त निर्वाचनलाई सफल पार्न नेपाली सेनाले पु¥याएको योगदान कदरयोग्य रहेको कुरा उहाँले बताउनुभयो ।
मन्त्री प्रधानले जंगी अड्डाको निर्देशनबमोजिम पृतनापतिले योजनाबद्धरुपमा फौज परिचालनका साथै सम्बन्धित अन्य निकायसँग समन्वय र सहकार्य गर्दै निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा सेनाका सम्बन्धित विभागबाट वस्तुस्थितिको विश्लेषण तथा समीक्षा प्रस्तुत भएको थियो । सबै पृतनापतिले आआफ्ना जिम्मेवारी क्षेत्रका निर्वाचन सुरक्षा योजनासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली सेनालाई प्राप्त जिम्मेवारी प्रभावकारीरुपमा सम्पन्न गर्न आफूहरु क्रियाशील हुने धारणा व्यक्त गर्नुभयो । उहाँले आवश्यक योजना र पूर्वतयारीसहित आफ्नो जिम्मेवारीलाई व्यावसायिक तथा उत्कृष्ट ढंगबाट पूरा गर्दै आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा पनि कुनै कसर नराखि नेपाली सेनाले शान्तिपूर्ण ढंगबाट सु–सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । छलफलमा निमित्त रक्षा सचिव ऋषि राजभण्डारी, पृतनापतिलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखको समेत उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?