डीभी भरेर आतंकवादी अमेरिका पस्ने गरेको ट्रम्पको आरोप, भनाईपछि फसे विवादमा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा आएका छन् । डीभी भरेर आतंकवादी अमेरिका पस्ने गरेको बताएपछि उनको यतिबेला आलोचना भइरहेको छ । आप्रवासीहरुप्रति जहिल्यै नकारात्मक रहँदै आएका उनले मंगलबार भएको हमलामा ८ जनाको ज्यान गएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले योग्यताका आधारमा अमेरिकामा आप्रवासीलाई लिइनुपर्ने बताए । यद्यपि डीभी भर्दा समेत निश्चित शिक्षा र अन्य मापदण्ड पार गरेपछि सम्बन्धित देशको दूतावासमा अन्तर्वार्ता समेत दिनुपर्ने तथ्यलाई भने उनले भुलेका हुन् अथवा आफ्नै कर्मचारीलाई विश्वास नगरेका हुन् भन्दै यतिबेला ट्रम्पको आलोचना भएको छ । यसअघि उनले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाएका थिए । अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि दिएको प्रतिक्रियामा उहाँले सो कुराको प्रतिबद्धता व्यक्त गरेका हुन् । संयुक्त राज्य अमेरिकाको स्थानीय समयानुसार मङ्गलबार दिउँसो लोअर म्यानह्याटनको एक सडकमा एकजनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठजनाको ज्यान लिएको थियो । न्यूयोर्कको म्यानह्याटनमा गराइएको यस ट्रक आक्रमणलाई अमेरिकी अधिकारीहरुले आतङ्कवादी कार्य हो भनेका छन् । न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको नेतृत्वको आतङ्ककारी संगठनबाट भएको हमलापछि आतङ्ककवादसँग सम्बन्धित घटनामा मान्छेहरुले ज्यान गुमाएको यो पहिलो पटक हो । न्यूयोर्कको प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन् । सो आतङ्ककारीलाई पछि प्रहरीले गोली हानेर पक्राउ गरेको अधिकारीहरुले बताएका छन् । उक्त आक्रमणपछि राष्ट्रपति ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै उक्त आतङ्ककारी संगठन आइएसको अस्तित्व मेट्ने आफ्नो ट्वीटर लेखेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?