मेलबर्नको पूर्वी क्षेत्रमा मध्यरातमा भएको आगलागीमा परी एक नेपाली युवाको मृत्यु


मेलबर्नको पूर्वी क्षेत्रमा अवस्थित काम्बरवेल मा गएराति आगलागीमा परी एक युवाको मृत्यु भएको छ । विद्यार्थीको रुपमा आएका ति युवाको पूर्ण परिचय प्रहरीले अहिले खुलाएको छैन । परिवारसँगको सम्पर्कपछि अन्य विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । राति १२:३० बजेको आसपासमा २० भन्दा बढी दमकलहरु घछनास्थलमा पुगेका थिए । तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो । उक्त घरमा बसोबास गर्ने अन्य दुईजना भने आफ्नो ज्यान जोगाउन सफल भएका छन् । महानगरीय दमकल विभागका कमाण्डर ब्रायन ह्वीटाकरले आगलागी भएको घरभित्र २५ वर्षीय एक युवकको शव फेला परेको पुष्टि गरे । उनले भने, “हामी आउनेवित्तिकै आगलागी सुरु भएको कोठालाई केन्द्रित गरेर उद्धार थालेका थियौं । तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो । उक्त घरमा स्मोक डिटेक्टर पनि चालु हालतमा नरहेको पाइएको छ ।” आगलागीको कारण खुल्न बाँकी छ भने मृतक युवाको परिचय पनि पछि खुलाउने प्रहरीले जनाएको छ । आगलागी क्याम्बरवेलको कींग्स्ले स्ट्रीटमा अवस्थित घरमा भएको हो ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेलले सम्बन्धित परिवारसँग सम्पर्क भएको र आवश्यक सहयोगका लागि आफुहरु तत्पर रहेको बताएका छन् । उनी भन्छन्, “चाडवाडको समयमा यस्तो दुखद घटनाले हामी स्तब्ध छौं । प्रहरीले परिचय खुलाएको छैन । परिवारसँग सम्पर्क भएपछि उनीहरुको अनुमतिपछि मात्रै शायद ति नेपाली युवाको बारेमा थप जानकारी हुनेछ ।”
नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको छ । न्याभले एक नोट सार्वजनिक गर्दै नेपाली युवाको दुखद दुर्घटनामा मृत्यु भएको जनाएको छ ।  नेपालको सीतापाईलामा घर भएका ति नेपाली विद्यार्थी करिब तीन वर्षअघि अष्ट्रेलिया आएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?