पुनसंरचनाको नयाँ चरणमा एनआरएनए, भिजन २०२० पारित, चुनाव आज


गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनको बन्द सत्रले अध्यक्ष शेष घलेको भिजन २०२० लाई पारित गरेको छ । प्रमुख संरक्षक जीवा लामिछानेको प्रस्तावमा तालीको गडगडाहटका साथ अधिवेशनले प्रस्तावलाई पारित गरेको थियो । प्रस्ताव पाति भए लगत्तै अध्यक्ष घलेले खुशी व्यक्त गर्दै यो विश्वासका लागि धन्यवा दिएका थिए । भिजन २०२० पारित नहुने र आफ्नो योजना असफल हुनसक्ने आशंकाले ग्रस्त नेतृत्वले यसमा सुधार गरी प्रस्तुत गरेको थियो ।
जसअन्तर्गत हाल अध्यक्षमा रहेका केही जिम्मेवारी उपाध्यक्ष लगायतका पदाधिकारीमा बाँड्ने, सचिवालयलाई बलियो बनाउने, संघ अन्तर्गत बिभिन्न बिभागहरु सिर्जना गरी ती बिभागलाई भिन्नभिन्न पदाधिकारीले नेतृत्व गर्ने लगायतका प्रस्ताव छन् । छलफलमा सहभागीहरुले बाहिर जेजस्तो चर्चा भएको थियो प्रस्ताव त्यस्तो नभएर संस्थाको हितमा रहेको प्रतिक्रिया दिएका छन् । नीति पैरवीका लागि पोलिसी इस्टिच्यूट स्थापना गर्ने र परोपकारी कामका लागि फाउण्डेसन स्थापना गर्ने प्रस्तावलाई एनआरएनका प्रतिनिधिहरुले मन पराएका थिए । बिदेशमा रहेका नेपालीहरुलाई सो फाउण्डेसनमा रकम सहयोग गर्न सहज हुनेगरी बिदेशमा समेत एउटा फाउण्डेसन स्थापना गर्ने प्रस्ताव गरिएको छ ।
बन्दसत्रमा अध्यक्ष घलेले सो प्रस्ताव र त्यसअन्तर्गत तयार गरी संरचनाको मार्गचित्र पेश गरेका थिए ।सो प्रस्तावमाथि धारणा राख्दै संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले समयअनुकुल संस्थामा सुधार र परिवर्तन जरुरी रहेको भन्दै यो मार्गचित्रमा धेरै राम्रा प्रस्ताव आएको बताए । संघको भिजन र संरचनाका सन्दर्भमा सबै प्रस्तावहरु उत्कृट रहेको भन्दै आफ्नो पूर्ण सर्मथन रहेको जनाए ।
यसैगरी संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि संस्थाको सुधारका लागि ल्याइएको यो प्रस्ताव समयसापेक्ष रहेको बताए । अघिल्लो सम्मेलनहरुमा आफूले बिरोध गरेको भए पनि आजको छलफलबाट सबै प्रष्ट भएको हुँदा यसलाई अनुमोदन गर्नुपर्ने लामिछानेको भनाई थियो । पोलिसी इन्स्टिच्यूट निर्माण गर्ने, संघ अन्तर्गत फाउण्डेसन स्थापना गर्नेलगायतका प्रस्ताव आफूलाई निकै मन परेको उनले बताए । संघका पूर्व अध्यक्ष देवमान हिराचनले एनआरएनलाई संस्थागत गर्ने बिषयमा यो भिजन उत्कृष्ट रहेको बताए । यसलाई तत्कालै कार्यान्वयनका लागि अगाडि बढाउनुपर्ने उनको भनाई थियो । हलमा सहभागी सबैजसो प्रतिनिधिले भिजन २०२० एण्ड बियोण्डले संस्थाको प्रष्ट मार्गचित्र देखाएको र अब यसलाई हाँसिल गर्न यो भिजनले दिएको सुझावअनुसारका संरचना बनाउनुपर्ने धारणा राखेका थिए । अन्त्यमा संघका अध्यक्ष शेष घलेले उठेका प्रश्नमाथि जवाफ दिएपछि हलले एकमतले सो प्रस्तावलाई अनुमोदन गरेको छ । योसँगै अब संघलाई पुनर्संरचना गर्न एनआरएनलाई साधारणसभाले पूर्ण म्याण्डेट प्राप्त गरेको छ । यसैगी आईतबार नै विधान संशोधनको विषयमा पनि छलफल सम्पन्न भएको छ । सोमबार निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ । यस पटकको आठौं विश्व सम्मेलनमो व्इवस्थापन पक्ष राम्रो नभएको सर्वत्र आलोचना भएको छ । अहिलेसम्म एनआरएनको आगामी कार्यकालमा नेतृत्व गर्नका लागि तीन जनाको उम्मेद्वारी परेको छ । वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घले, उपाध्यक्ष भवन भट्ट र टीवी कार्की मैदानमा छन् । आईतबार रातिसम्म उनीहरु विभिन्न देशबाट आएका प्रतिनिधिहरुसँग छलफल गरी आफ्नो पक्षमा पार्ने कसरतमा व्यस्त देखिन्थे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?