गौचनको हत्यारालाई कारबाही नगरे आन्दोलन, अन्य व्यवसायीलाई पनि धम्की आउने क्रम जारी


नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल कारबाही गर्न उक्त महासंघले सरकारसँग माग गरेको छ । महासंघका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर गौचनलाई शहीद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेका हुन् ।
अध्यक्ष गौचनको हत्याका साथै अन्य पदाधिकारीलाई विभिन्न फोन नम्बरबाट धम्की दिने प्रवृत्तिले असुरक्षा भएको भन्दै सुरक्षा प्रबन्ध मिलाउन महासंघले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको महासंघका महासचिव रामशरण देउजाले बताउनुभयो । भेटमा प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीको सुरक्षा दिन सरकार तयार रहेकाले हतोत्साहित नहुन व्यवसायीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दे महासचिवले देउजाले जानकारी दिनुभयो । “प्रधानमन्त्री ज्यूले व्यवसायीको सुरक्षाका लागि सुरक्षा प्रमुखसँग कुरा गरेको छु भन्नुभएको छ,”– उहाँले भन्नुभयो । यस्तै महासंघले अध्यक्ष गौचनको निधनमा तीन दिन निर्माणका सबै काम बन्द गर्ने निर्णय गरेको छ । सोमबार महासंघको कार्यालयमा बसेको आकस्मिक बैठकले अनिश्चितकालका लागि बोलपत्रमा सहभागी नहुने निर्णय समेत गरेको छ । महासचिव देउजाले घटनाका दोषी पत्ता नलगाएसम्म आफूहरुले शव नबुझ्नेसमेत बताउनुभयो । गौचनको शव अहिले परीक्षण लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । महासंघले सोमबार राति गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग भेटेर गौचनको हत्यारालाई शिघ्र कारबाहीको दायरमा ल्याउन माग गरेको थियो ।
‘पत्ता नलागे आन्दोलनको घोषणा’
नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले आफ्ना अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिनुभएको छ । आयोजित साक्षात्कार कार्यक्रममा महासचिव देउजाले बुधबार साँझसम्म सरकारले आफ्ना माग पूरा नगरेको अवस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माणलगायत काम ठप्प पार्ने बताउनुभयो । अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नंबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेको बताउँदै उहाँले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्धसहित गौचनको हत्यामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हत्यामा संलग्न पक्राउ नभएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव हामी बुझ्दैनौँ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?