साउथ अष्ट्रेलियामा गौरवपूर्ण बन्यो यस वर्षको दशैं !


अष्ट्रेलियामा नेपालीहरुको संख्या एक लाखको हराहारीमा छ भनिन्छ । तर, एकिन तथ्यांकमा नेपाली भाषा बोल्नेहरुको संख्या ५० हजारभन्दा बढी रहेको गतवर्षको तथ्यांकले देखाएको छ । जे भएपनि करिब एक लाखको संख्यामा रहेका नेपालीहरु करिब तीन करोड जनसंख्या रहेको अष्ट्रेलियाको समाजमा घुलमिल भएर बसेका छन् । संख्याको हिसाबले सिड्नीमा सबैभन्दा धेरै र त्यसपछि क्रमशः मेलबर्न, ब्रिसबेन हुँदै अन्य शहरहरुमा छरिएका छन् नेपालीहरु । यिनै अष्ट्रेलियामा बस्ने नेपालीहरुको लागि यस वर्षको विजया दशमी विशेष बन्यो । अझ साउथ अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्ने नेपालीहरुले त झन् यस वर्षलाई वर्षौं सम्झनेछन् । कारण एउटै थियो, पहिलो पटक नेपाली समूदायलाई विशेष कार्यक्रमको आयोजना गर्दै यहाँको लेजिष्लेटिभ काउन्सिलका प्रेसिडेन्ट रसेल वर्थले र डाना वर्थलेले संंयुक्त रुपमा संसद भवनमै बोलाएका थिए टीका लगाउन, दशैं मनाउन । बिहीबार एडिलेडका नेपालीहरु उत्साहका साथ पुगे अनि संसद भवनमा आयोजना गरिएको टीका कार्यक्रममा सरिक भए । उक्त अवसरमा बोल्दै प्रेसिडेन्ट रसेल वर्थले साउथ अष्ट्रेलियामा विभिन्न संस्कृतिको झल्को पाउँदा खुशी लागेको बताए । उनले दशैंको महत्वको बारेमा जानकारी पाएर आफु थप उत्साही बनेको प्रतिक्रिया दिए । उनलाई सेलरोटीले विशेष आकर्षित गरेको थियो । कार्यक्रममा बोल्दै नेपाली समूदायका अगुवा दिपक विष्टले दशैंको महत्वका बारेमा अवगत गराएका थिए । उनले नेपालको राष्ट्रिय पर्वका रुपमा दशैंलाई मनाउँदै आएको र १५ दिनसम्म देवीको पूजा गरी असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा यसलाई खुशीयालीका साथ मनाउने गरिएको पनि उल्लेख गरे । यस्तै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं साउथ अष्ट्रेलिया संयोजक अशोक केसीले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । उपाध्यक्ष केसी भन्छन्, “यस वर्षको दशैं हाम्रो लागि गौरवकै विषय बन्यो । नेपाली समूदायलाई दिएको सम्मानका लागि हामी यहाँका राजनीतिक वृत्तप्रति आभारी छौं । उनले यो क्रमलाई आगामी वर्ष पनि निरन्तरता दिनका लागि प्रयत्न गरिने पनि बताएका छन् ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?